तारकेश्वर कप–२०८३ रोमाञ्चक बन्दै, तेस्रो दिन १६ खेल सम्पन्न; आधा लाख बराबरको पुरस्कार र सहयोग घोषणा

Sagarmatha Post
Sagarmatha Post २० श्रावण २०८३, बुधबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाडौं, साउन २० – “खेल तारकेश्वरको, सन्देश एकताको” भन्ने मूल नारासहित तारकेश्वर नगरपालिकाको आयोजना तथा तारकेश्वर नगर खेलकुद विकास समितिको व्यवस्थापन मा सञ्चालन भइरहेको तारकेश्वर कप–२०८३ अन्तरविद्यालय फुटबल प्रतियोगिता दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ। तारकेश्वर नगरपालिका–८ स्थित टिपटो स्पोर्ट्स हब, शेषमती मा श्रावण १८ गतेदेखि सुरु भएको प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नगरभित्रका १६ सामुदायिक तथा संस्थागत विद्यालय सहभागी छन्।

विद्यालयस्तरमै फुटबल प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको तेस्रो दिन १६ वटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्। प्रतियोगितालाई थप भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विभिन्न व्यक्ति, व्यवसायी तथा संस्थाहरूबाट नगद पुरस्कार, ट्रफी र सामग्री सहयोग पनि प्राप्त भएको छ।

तेस्रो दिन सम्पन्न खेलहरूमा ग्राम सेवा माध्यमिक विद्यालय, हिम रश्मि हाई स्कुल, सृजना ज्ञानसागर, श्री पुरानो गुहेश्वरी माध्यमिक विद्यालय, सेक्रेड हार्ट माध्यमिक बोर्डिङ स्कुल, न्यू एरा एकेडेमी, मेगा पब्लिक स्कुल तथा कौशल ई.बी. स्कुल ले महत्वपूर्ण जित हात पारे भने केही खेल बराबरीमा टुंगिएका छन्।

पहिलो खेलमा सिद्धार्थ मोडल स्कुल र लालिगुराँस एन. एकेडेमी गोलरहित बराबरीमा रोकिए। दोस्रो खेलमा सृजना ज्ञानसागर ले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लाई १–० ले पराजित गर्यो। तेस्रो खेलमा हिम रश्मि हाई स्कुल ले कौशल ई.बी. स्कुल लाई १–० ले हरायो भने चौथो खेलमा श्री पुरानो गुहेश्वरी माध्यमिक विद्यालय ले संस्कार स्कुल लाई ३–० ले पराजित गर्यो।

पाँचौं खेलमा कुञ्चीप्वाकल माध्यमिक विद्यालय ले युनाइटेड स्कलर्स एकेडेमी लाई १–० ले हरायो। छैटौं खेलमा न्यू एरा एकेडेमी र सेक्रेड हार्ट माध्यमिक बोर्डिङ स्कुल बीचको खेल गोलरहित बराबरीमा सकियो। सातौं खेलमा ग्राम सेवा माध्यमिक विद्यालय ले मेगा पब्लिक स्कुल लाई २–० ले पराजित गर्यो भने आठौं खेलमा एलिगेन्ट पर्ल इङ्लिस स्कुल ले टाइम्स एकेडेमी माथि ४–० को शानदार जित निकाल्यो।

नवौं खेलमा सृजना ज्ञानसागर ले लालिगुराँस एन. एकेडेमी लाई ३–० ले पराजित गर्यो। दशौं खेलमा सिद्धार्थ मोडल स्कुल र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बीचको खेल १–१ को बराबरीमा सकियो। एघारौं खेलमा हिम रश्मि हाई स्कुल ले श्री पुरानो गुहेश्वरी माध्यमिक विद्यालय लाई १–० ले हरायो भने बाह्रौं खेलमा संस्कार स्कुल उपस्थित नभएपछि कौशल ई.बी. स्कुल ले वाकओभरमार्फत ३–० को जित दर्ता गर्यो।

तेह्रौं खेलमा सेक्रेड हार्ट माध्यमिक बोर्डिङ स्कुल ले कुञ्चीप्वाकल माध्यमिक विद्यालय लाई २–१ ले पराजित गर्यो। चौधौं खेलमा न्यू एरा एकेडेमी ले युनाइटेड स्कलर्स एकेडेमी माथि १–० को जित निकाल्यो। पन्ध्रौं खेलमा मेगा पब्लिक स्कुल ले टाइम्स एकेडेमी लाई ३–० ले हरायो भने दिनको अन्तिम खेलमा ग्राम सेवा माध्यमिक विद्यालय ले एलिगेन्ट पर्ल इङ्लिस स्कुल लाई ४–१ ले पराजित गर्दै प्रभावशाली जित हासिल गर्यो।

प्रतियोगितामा आकर्षक पुरस्कार र सहयोग

प्रतियोगितालाई अझ आकर्षक बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले नगद पुरस्कार, ट्रफी तथा सामग्री सहयोगको घोषणा गरेका छन्।

Nepalese Football Association Malaysia का अध्यक्ष हेमप्रसाद भट्ट (सन्तोष) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न पाँच विधाका पुरस्कारका लागि नगद सहयोग प्रदान गर्नुभएको छ। अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अनुभवी तेक्वान्दो प्रशिक्षकसमेत रहनुभएका भट्टले खेलकुद विकास र खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले सहयोग उपलब्ध गराउनुभएको हो।

उहाँको सहयोगबाट Most Valuable Player (सर्वोत्कृष्ट खेलाडी), Highest Goal Scorer (सर्वाधिक गोलकर्ता), Emerging Player (उदीयमान खेलाडी), Best Goalkeeper (उत्कृष्ट गोलरक्षक) तथा Best Coach (उत्कृष्ट प्रशिक्षक) लाई जनही रु. ५ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्रदान गरिनेछ।

त्यसैगरी, अनुषा कुँवर को पहलमा पोखरा सभागृह चोकस्थित शिवम् ज्वेलरी बाट प्रमिला कुँवर ले उत्कृष्ट खेलाडीहरूलाई प्रदान गरिने ट्रफी तथा सम्मानका लागि रु. १२ हजार सहयोग प्रदान गर्नुभएको छ।

टोलीगत पुरस्कारतर्फ लोकेन्द्र खड्का को पहलमा Immigration & Private Schools का तर्फबाट प्रथम हुने टोलीलाई रु. १० हजार तथा तेस्रो हुने टोलीलाई रु. ३ हजार नगद पुरस्कार घोषणा गरिएको छ। त्यस्तै टिपटो स्पोर्ट्स हब का सञ्चालक गौरव बस्नेत ले दोस्रो हुने टोलीलाई रु. ५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ।

यस्तै, प्रतियोगिताको व्यवस्थापनका लागि तारकेश्वर नगर खेलकुद विकास समितिका उपाध्यक्ष सानुबाबु महर्जन ले करिब रु. १० हजार बराबरको मिनरल वाटर सहयोग उपलब्ध गराउनुभएको छ।

अध्यक्ष खड्गीद्वारा सहयोगदातालाई धन्यवाद

प्रतियोगितालाई सफल, व्यवस्थित र थप उत्साहजनक बनाउन विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगप्रति तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गी ले सम्पूर्ण सहयोगदाता, खेलप्रेमी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले स्थानीय सरकार, निजी क्षेत्र, विदेशमा रहेका नेपाली तथा खेलप्रेमीहरूको सहकार्यले विद्यालयस्तरको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार तारकेश्वर कप–२०८३ विद्यालयस्तरमा लुकेका फुटबल प्रतिभाको पहिचान गर्दै भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो। प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र आपसी एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका बाँकी खेलहरू श्रावण २२ गतेसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि टिपटो स्पोर्ट्स हबमा सञ्चालन हुनेछन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्