तारकेश्वरमा म्याग्दीको धौलागिरि गाउँपालिकाको सेवा शिविर, सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै निःशुल्क आँखा परीक्षण

Sagarmatha Post
Sagarmatha Post २४ श्रावण २०८३, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौँ । म्याग्दीको धौलागिरि गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना गाउँपालिकावासी सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई लक्षित गर्दै काठमाण्डौंको तारकेश्वरमा सेवा शिविर सञ्चालन गरेको छ।
गाउँपालिकाले तारकेश्वर नगरपालिका–९, इन्द्रेणी पुलस्थित एन्जल हार्ट नेसनल स्कुलमा आज शिविर आयोजना गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अन्य लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने व्यवस्था मिलाएको हो।
गाउँपालिकाको कार्यालयसम्म पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न कठिन हुने काठमाडौँमा बसोबास गर्ने लाभग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले राजधानीमै शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै लाभग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै निःशुल्क आँखा परीक्षण शिविर पनि सञ्चालन गरिएको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आएका ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीले शिविरमै आँखाको निःशुल्क परीक्षण गराउने सुविधा पाएका छन्।
शिविरमा धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुन सहित जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको छ । गाउँपालिकाका प्रतिनिधिहरूले लाभग्राहीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा गाउँपालिकाबाट उपलब्ध गराइने सेवाका विषयमा समेत जानकारी लिएका छन्।
स्थानीय सरकारको सेवा नागरिकको सहज पहुँचमा पु¥याउने उद्देश्यले काठमाडौँमा रहेका आफ्ना गाउँपालिकावासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाएर काठमाडौँमै सेवा उपलब्ध गराउनुका साथै निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएपछि शिविरमा सहभागी ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीले गाउँपालिकाको पहलको प्रशंसा गरेका छन्। बर्षाको समय र भौगोलीक विकटताका कारण सामाजिक सुरक्षा भत्ता नविकरणका लागि धेरै जना सेवाग्राहीले दुख पाउने अवस्थालाई मध्यनजर गरेर पालिकाको टिमनै काठमाण्डौं आएर सेवा दिएको धौलागिरी गाउँपालिका समाज, काठमाण्डौंका अध्यक्ष लिल बहादुर पुनले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्