काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशका संसदीय दलका नेता एवं बागमती प्रदेशसभा सदस्य जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका अपूर्ण, गलत तथा अतिरञ्जित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
स्वास्थ्यमा समस्या आएपछि केही दिन अस्पतालमा उपचार गराएका थपलियाले प्रेस विज्ञप्तिमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे स्पष्ट पार्दै अपूर्ण वा गलत समाचारलाई आधार बनाएर आफ्नो स्वास्थ्यबारे कुनै निष्कर्षमा नपुग्न सबैसँग आग्रह गरेका छन्।
श्रावण १८ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला अचानक रक्तचाप र मधुमेहमा असन्तुलन उत्पन्न भई स्वास्थ्यमा जटिलता देखिएको उनले बताएका छन्। चिकित्सकको सल्लाहअनुसार थप परीक्षण तथा उपचारका लागि आफू केही दिन अस्पतालमा भर्ना भएको उनले उल्लेख गरेका छन्।
आवश्यक परीक्षण, चिकित्सकीय निगरानी र उपचारपछि आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थपलियाले बताएका छन्। उपचारका क्रममा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको उच्च व्यावसायिक दक्षता, निरन्तर निगरानी, समर्पण र सहानुभूतिप्रति उनले विशेष आभार व्यक्त गरेका छन्।
अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्ने, हौसला प्रदान गर्ने तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्ने पार्टीका नेता, सहकर्मी तथा कार्यकर्ता, आफन्त, शुभेच्छुकलगायत सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।
अस्पतालबाट घर फर्किएपछि समेत स्वास्थ्य अवस्थाबारे चासो राख्दै भेट्न आउने तथा विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैको आत्मीयता र सद्भावले आफूलाई थप मानसिक बल प्रदान गरेको उनले बताएका छन्।
यद्यपि, स्वास्थ्यमा सुधार भइरहेको भए पनि आफू अझै पूर्ण रूपमा स्वस्थ भइनसकेको थपलियाले स्पष्ट पारेका छन्। चिकित्सकको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताएका छन्।
आफ्नो स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचना तथा समाचारलाई आधार बनाएर कुनै निष्कर्षमा नपुग्न उनले आग्रह गरेका छन्।
स्वास्थ्यलाभपछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेकपा (एमाले)लाई बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रियस्तरमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
बागमती प्रदेशको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका थपलियाको स्वास्थ्यमा समस्या देखिएपछि उनको अवस्थाबारे विभिन्न चर्चा र चासो बढेको थियो। पछिल्लो प्रेस विज्ञप्तिमार्फत उनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको भए पनि चिकित्सकीय सल्लाहअनुसार आराम र उपचारलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन्।



प्रतिक्रिया दिनुहोस्