काठमाडौं । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार दाङको राप्ती गाउँपालिका वडा नम्बर १ पारखानीदेखि लमही नगरपालिका वडा नम्बर ४ सम्म पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका रुख हानी–नोक्सानी गरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याइएको विषयमा अनुसन्धान गरिएको थियो।
उक्त सडक क्षेत्राधिकारभित्र रहेका सिमल, सिरिसलगायत विभिन्न जातका रुखमा क्षति पुर्याइएको आरोपमा अनुसन्धानपछि गाउँपालिका अध्यक्ष विष्टसहितका व्यक्तिलाई प्रतिवादी बनाइएको जनाइएको छ।
मुद्दामा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जैसवालसहित अन्य कर्मचारी तथा सरोकारवाला व्यक्तिहरू पनि प्रतिवादी रहेका छन्।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै रु ५१ लाख ३७ हजार ९ सय बिगो कायम गर्न मागदाबी गरेको छ। बिगोबमोजिम कैद तथा जरिवाना गरी बिगोसमेत असुलउपर गर्न आयोगले माग गरेको छ।
स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधिसमेत भ्रष्टाचारसम्बन्धी मुद्दामा प्रतिवादी बनेपछि दाङको राप्ती गाउँपालिकाको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा यस घटनाले विशेष चर्चा पाएको छ।


प्रतिक्रिया दिनुहोस्