नेपालीको पहलपछि जापानी कम्पनीले सुरु गर्‍यो नेपालका बाढी–पहिरो पीडितका लागि राहत अभियान

Sagarmatha Post
Sagarmatha Post २१ भाद्र २०८३, आईतवार
3 Min Read
Aa

जापान । नेपालमा आएको विनाशकारी बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला जापानमा कार्यरत एक नेपालीको पहलपछि जापानी कम्पनीले नेपालका विपद् प्रभावितका लागि औपचारिक राहत संकलन अभियान सुरु गरेको छ।

चितवनको खैरहनी नगरपालिका घर भई हाल जापानमा कार्यरत रञ्जन त्रिपाठीले नेपालमा आएको विपत्तिबारे आफ्नो कार्यरत कम्पनी Zero Seiko Co., Ltd. लाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेपछि कम्पनीले राहत अभियान अघि बढाएको हो।

बाढी–पहिरोको खबरबाट प्रभावित त्रिपाठीले सुरुमा व्यक्तिगत रूपमा आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका थिए। त्यसपछि व्यक्तिगत सहयोगले मात्र पर्याप्त नहुने महसुस गर्दै उनले आफू कार्यरत कम्पनीका विभागीय प्रमुखलाई नेपालमा भइरहेको विपत्तिबारे जानकारी गराउँदै संस्थागत रूपमा सहयोग गर्न आग्रह गरेका थिए।

त्रिपाठीका अनुसार उनको आग्रहपछि कम्पनीका प्रमुखले नेपालमा भएको विपत्तिबारे कम्पनीको ध्यान समयमै पुग्न नसकेकोमा दुःख व्यक्त गर्दै पहलका लागि धन्यवाद दिएका थिए। साथै, नेपालका बाढी–पहिरो पीडितका लागि कम्पनीकै तर्फबाट आधिकारिक रूपमा राहत संकलन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।

कम्पनीले यसअघि यस प्रकारको राहत अभियान सञ्चालन नगरेको र नेपालका विपद् प्रभावितका लागि सहयोग संकलन गर्नु कम्पनीका लागि पहिलोपटक भएको जानकारीसमेत त्रिपाठीलाई गराइएको थियो।

हाल कम्पनीका कर्मचारीहरू स्वेच्छिक रूपमा राहत संकलन अभियानमा सहभागी भइरहेका छन्। नेपालमा आएको विपत्तिमा प्रत्यक्ष रूपमा जोडिन नसके पनि आफ्नो तर्फबाट सहयोग गर्न जापानी सहकर्मीहरूले देखाएको तत्परता आफूका लागि भावुक र प्रेरणादायी रहेको त्रिपाठीले बताएका छन्।

‘सानो प्रयास अरूका लागि प्रेरणा बनोस्’

त्रिपाठीले आफ्नो व्यक्तिगत पहललाई प्रचारभन्दा पनि मानवीय सहयोगको एउटा उदाहरणका रूपमा लिन आग्रह गरेका छन्।

उनका अनुसार विदेशमा रहेका नेपालीहरूले आफू कार्यरत कम्पनी, संस्था वा सहकर्मीलाई नेपालमा परेको विपत्तिबारे जानकारी गराएर सहयोगका लागि आग्रह गर्ने हो भने त्यस्ता धेरै संस्थालाई मानवीय अभियानमा जोड्न सकिन्छ।

“एउटा कम्पनी मात्रै पनि मानवीय अभियानमा जोडिन सक्दोरहेछ भन्ने अनुभव भयो,” त्रिपाठीको भनाइ छ।

आफ्नो सानो प्रयासले विदेशमा रहेका अन्य नेपाली, विभिन्न कम्पनी तथा संघ–संस्थालाई पनि नेपालमा विपद् पर्दा आफ्नो ठाउँबाट सहयोगका लागि पहल गर्न प्रेरित गर्न सकोस् भन्ने उनको अपेक्षा छ।

नेपालमा प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई तत्काल राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने अवस्थामा विदेशमा रहेका नेपाली तथा उनीहरू आबद्ध संस्था र कम्पनीको सहयोगले पीडित परिवारका लागि महत्वपूर्ण राहत बन्न सक्ने देखिन्छ।

त्रिपाठीले आफ्नो व्यक्तिगत प्रयासलाई अभियानमा परिणत गर्दै नेपालका विपद् प्रभावितलाई सहयोग गर्न अघि सरेको Zero Seiko Co., Ltd. र अभियानमा सहभागी कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्