रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिका–६ को वडा अधिवेशनले रबि केसीको सभापतित्वमा पुनः सर्वसम्मत वडा कार्यसमिति चयन गरेको छ।
तारकेश्वर–६ स्थित साझा पार्टी प्यालेसमा आज बिहानदेखि जारी अधिवेशनले केसीलाई लगातार दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन गरेको हो। केसी यसअघि पनि सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए।
अधिवेशनबाट उपसभापतिमा दिपक घिमिरे, सचिवमा रामचन्द्र घिमिरे तथा सहसचिवमा मोविन नकर्मी चयन भएका छन्।
अधिवेशनमा क्षेत्रीय प्रतिनिधितर्फ खुला समूहबाहेक अन्य पदमा सर्वसम्मत चयन भएको जनाइएको छ। खुलातर्फ भने ११ जना क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्नेमा १४ जनाको दाबी रहेकाले सहमतिको प्रयास भइरहेको वडा कार्यसमितिका प्रवक्ता सुजित तिमिल्सीनाले जानकारी दिनुभयो।
युवा क्षेत्रीय प्रतिनिधितर्फ सुजित तिमिल्सीना, नवराज अर्याल, श्रेया खत्री, सुजन श्रेष्ठ र सौरभ तिमिल्सीना सर्वसम्मत चयन भएका छन्।
अधिवेशनबाट अन्य पदमा समेत सर्वसम्मत चयन भए पनि सबै प्रतिनिधि तथा पदाधिकारीको नाम प्राप्त भइनसकेको प्रवक्ता तिमिल्सीनाले बताउनुभयो। बाँकी नाम तथा विवरण प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।
खुला क्षेत्रीय प्रतिनिधिको विषयमा देखिएको दाबीलाई सहमतिमार्फत टुंग्याउने प्रयास भइरहेकाले तारकेश्वर–६ को कांग्रेस वडा अधिवेशनमा नेतृत्व चयन भने सर्वसम्मत भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्