काठमाण्डौं क्षेत्र नं ६ मा विष्णुभक्त तिमिल्सिनाको टिमबाट सचिवमा पाण्डे, सहसचिवमा धिताल र पाण्डे

Sagarmatha Post
Sagarmatha Post १० आश्विन २०८३, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय सभापतिका उम्मेदवार विष्णुभक्त तिमिल्सिनाको टिमले सचिव र सहसचिव पदका उम्मेदवार टुंगो लगाएको छ ।

तिमिल्सिनाको टिमबाट सचिवमा रामशरण पाण्डे तथा सहसचिवमा सन्तोष धिताल र निशा पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । केहीबेरअघि सार्वजनिक गरिएको उम्मेदवारको सूचीमार्फत उनीहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन भोलि बिहान तारकेश्वर नगरपालिका–८ स्थित टुसाल मल्टीभेन्युमा हुँदैछ । अधिवेशनमा क्षेत्रीय नेतृत्वसहित विभिन्न पदमा उम्मेदवारी र समूहगत तयारी तीव्र बनेको छ ।

प्रदेशसभा ‘ख’ का सभापति रहेका तिमिल्सिनालाई वर्तमान क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको प्रस्तावमा क्षेत्रीय सभापतिको उम्मेदवारका रूपमा अघि सारिएको हो । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै काठमाडौं–६ मा नेतृत्वका लागि विभिन्न समूहले आफ्नो टिम निर्माण गरिरहेका छन् ।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय तिमिल्सिनाले प्रदेश ‘ख’ को नेतृत्व सम्हाल्दै आएका छन् । कार्यकर्तासँगको निरन्तर सम्पर्क र संगठनात्मक गतिविधिमा सक्रियताका कारण उनी क्षेत्रीय नेतृत्वका लागि अघि सारिएको उनीनिकट नेताहरूको भनाइ छ ।

तिमिल्सिनाको टिमले सचिव र सहसचिवका उम्मेदवार सार्वजनिक गरेसँगै क्षेत्रीय अधिवेशनमा समूहगत प्रतिस्पर्धा थप स्पष्ट हुँदै गएको छ । सचिवमा अघि सारिएका रामशरण पाण्डे तथा सहसचिवका उम्मेदवार सन्तोष धिताल र निशा पाण्डेले तिमिल्सिनाको नेतृत्वमा क्षेत्रीय संगठनलाई अघि बढाउने प्रतिबद्धतासहित प्रतिनिधिहरूसँग भेटघाट र समर्थन जुटाउने तयारी गरेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्