गरियो नरक चतुर्दशी स्नान, दीपदान (नरके बगाउने) पर्व

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ,  प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ ।

स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने गरेको छ ।

आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै कुकुरको पूजा गरी मीठा कुरा खान दिइँदै छ । आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदै छ ।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकअर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी कुकुर तिहार तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

यस वर्ष कात्तिक ५ गते शनिबारदेखि यमपञ्चकअर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन आइतबार काग तिहार र धनवन्तरी पर्व मनाइएको थियो । यो नेपालीको बडादसैँपछि दोस्रो ठूलो चाड हो । यसलाई उज्यालोको चाड पनि भनिन्छ । यमपञ्चक लागेसँगै सहर, बजार झिलीमिली बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array