बदलिँदै तिहारको मौलिकता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० कार्तिक २०७९, बिहीबार
9 Min Read
Aa

रामपुर (पाल्पा), खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनको तालमा छम्केर नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । यसरी समूहमा साथीसँग स्थानीय लोकलयमा गीत गाएर देउसी र भैलो खेल्दा आन्दानुभूति हुने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल ।

“आधुनिकीकरणका नाममा मौलिक संस्कृति नै धरापमा पर्न गएको छ, पहिलेका देउसी र भैलो रचनात्मक खालका हुन्थे”, उहाँले भन्नुभयो, “अहिले ती सिर्जनात्मक शैलीका देउसी र भैलो देख्नै पाइँदैन, युट्युब, मेमोरीकार्डबाट गीत बजाएर देउसी र भैलो खेल्दा पहिलेजसो त्यति रमाइलोपन छैन ।”

पहिला तिहारमा देउसी र भैलो खेलेर सङ्कलित रकमले मठ, मन्दिर, चौतारी, खानेपानी पँधेरा, कुवा निर्माण जस्ता सामाजिक काममा लगाइन्थ्यो भने अहिले रङ रमाइलो र वनभोजलाई मात्रै केन्द्रित जस्तो गरेर भैलो उठाउने खेलो भएको कलाकार पोखरेल बताउनुहुन्छ ।

भैलेनी आयौँ आँगन बडाली कुँडाली राखन, आहैँ औँशीको बार गाईतिहार भैलीराम ।
हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँशीको बार गाईतिहार भैलो ।।
हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँशिको बार गाईतिहार भैलीराम ।

यसरी गीत गाएर गाउँभरि देउसी र भैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसी र भैलो हेर्नेको गाउँमा भीड नै हुने गरेको ६१ वर्षीय रामपुर भजनकृतन मण्डलीका अध्यक्ष टीकाराम ढकाल बताउनुहुन्छ ।

“पहिलेको देउसी र भैलो तथा अहिलेको देउसी र भैलोमा धेरै फरक छ, हिजोआज त ठूला ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, यस्तो संस्कृतिले मौलिकता नै हराउन पुगेको छ, यसरी क्षणिक रमाइलोका लागि मात्रै खेलिन्छ, संस्कृतिको वास्तविक मार्मिकता नै छैन”, उहाँले भन्नुभयो ।

मौलिकपना नपाउँदा चाडबाड मनाउने हाम्रा परम्परागत संस्कृति नै बद्लिँदै गएको उहाँ अनुभूति गर्नुहुन्छ । अबका पुस्तामा पुरानो देउसी र भैलोको कुरा एकादेशको कथा जस्तो हुने भएकाले यसलाई जोगाउन घरमूलीले नयाँ सन्ततिलाई बुझाउन र सिकाउनु जरुरी रहेको ढकालको भनाइ छ ।

जुनी काट्छौँ नि भन्थ्यौँ मसित, मनको साइनो जोडिछौँ को सित ।। ओ…डाँडाघरे साहिँली मैले हत्ते गरेर के गर्ने, नशानशा रगतमा छौँ तिमी पिरतीको अर्को नाउँ हौँ तिमी ।

यस्ता गीतले देउसी र भैलोको मर्म र संस्कृित बोल्दैनन् । अहिलेका देउसी र भैलोमा यिनै गीतमा सहर बजारमा युट्युबाट गीत बजाएर नाचिने गरिएको छ । पश्चिमी संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसी र भैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसी र भैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसी र भैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालैउज्यालोको पर्वका रुपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनी बीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो ।

अहिलेको देउसी र भैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीत, पप, चलचित्र, आधुनिक गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ । केहीले देउसी र भैलो संस्कृतिलाई रमाइलोका रुपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतको स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ ।

लोप भयो मखमली फूल

‘मखमली फूल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँशु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय सान्र्दभिक छ ।

पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिएको छ ।

“दाजुभाइ र दिदिबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दिर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन रहे पनि फूलको अभाव हुँदा सयपत्री र बजारका कृत्रिम माला प्रचलनमा आएको बताउनुहुन्छ”, स्थानीय पार्वती न्यौपाने ।

उहाँ भन्नुहुन्छ, “कहिल्यै नओइलिने मखमली फूलले तिहारमा धेरै महत्व बोकेको छ, यो फूल कहिले न ओइलिने भएकाले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतीकका रुपमा लिइन्छ तर गाउँमा हिजोआज यो कतै देख्न पनि पाइँदैन ।”

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीलाई तिहारको अभिन्न अङ्ग बनिसकेको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेका छन् ।

मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारी जस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।

नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ । मखमली फूल नोपालीको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी, हल्का रातो रंगमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । अर्कोतर्फ मखमली फूल सँगै गाउँघरमा फुल्ने सयपत्री र गुरधौली फूल पनि देखिन छोडेको छ । प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ ।

माटाका भाँडा प्रयोग गर्ने घट्दै

सहरबजारदेखि गाउँघरमा झिलीमिली बत्तीको प्रयोग बढ्दो छ । कृत्रिम वस्तु ल्याएर घर सजावट गर्ने र झिमीमिली बनाउने संस्कृति हिजोआज देखासिकी जस्तै बनेको छ । बजारमा तयारी अवस्थामा आएका विभिन्न झिलीमिली बत्तिले घर उज्यालो बनाउने होडबाजी नै देखिन्छ ।

पहिला माटोबाट तयार पारिएका पालामा घरआँगनका डिल, चौकोस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । तर हिजोआज भने तिहारका समयमा माटोका पाला गाउँघरमा देख्नै पाइँदैन ।

हाम्रा पालामा माटोबाट बनेका पालामा घरको मूल ढोका, चौकस, मझेरी, आँगन, तुलसीको मठ, बार्दलीमा लहरै बत्ति बाल्ने चलन थियो तर हिजोआज बजारमा आएका अनेकथरीका बत्ती ल्याएर गाउँभरि बाल्न थालेको रामपुर–६ कौवा बस्ने हुमा देवकोटा बताउनुहुन्छ । “हिजोआज त माटोका भाँडामा गाउँमा कसैले बत्ती बाल्दैनन्, चाडपर्व मनाउने नाममा चलनचल्तीमा आएका पुराना सामग्रीलाई निरन्तरता दिनुपर्ने हो, सबै कृत्रिम वस्तुको प्रयोगमा सौखिन हुन थाले, मेरै नातिनातिनालाई यी कुरा नौलो लाग्न थालिसक्यो”, उहाँले भन्नुभयो ।

“गाउँमा पहिला घरघरमा माटोको भाँडा बनाउने गरेपनि अहिले सबैले छाड्दै जाँदा उत्पादन कम भएपछि बजारका बत्तीमा स्थानीय आकर्षित हुन थालेको छन्”, व्यवसायी सोमबहादुर कुमाल बताउनुहुन्छ । रामपुर नगरपालिका–६ तिलकपुर क्षेत्रमा कुमाल समुदायको बाक्लो बस्ती रहे पनि सोमबहादुरले मात्रै एक्लै माटोका भाँडा बनाउने पेशा धान्दै आउनुभएको छ ।

“गाउँका सबैका घरघरमा माटोका भाँडा बन्ने गथ्र्यो, अहिले सबैले पेशा छाडे, माटोबाट बनेका पाला खोज्न अझै पनि ग्राहकहरु घरमा आउने गरे पनि उत्पादन कम हुँदा मागअनुसार पु¥याउन सकिएको छैन”, कुमालले भन्नुभयो ।

विशेषगरी तिहारमा घरमा माटोबाट तयार पारिएका पालामा बत्ती बाल्ने पुरानो चलन छ । अझसम्म पनि केही पाका स्थानीयले पुरानो चलनलाई निरन्तरता दिँदै माटोका पाला नै खोज्ने गर्छन् । तर माटोको अभावमा धेरैले व्यवसाय छाड्दै जादा भने हिजोआज व्यवसाय धान्न समस्या परेको छ । तिलकपुर क्षेत्रमा मात्रै करिब दुई सय ५० घरपरिवार कुमाल समुदायको छ ।

जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटोका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले यो पेशा लोप हुँदै गएको छ । वर्षांैदेखि गर्दै आएको पेशा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्