‘लोकतन्त्रको मेरुदण्ड पत्रकारिता’ : अध्यक्ष झा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

काठमाण्डौं । राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले लोकतन्त्रको मेरुदण्ड नै सूचना र पत्रकारिता रहेको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज भक्तपुरको रानीकोटमा आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचनमा मिडिया र पत्रकारको भूमिका बिषयक कार्यक्रममा अध्यक्ष झाले भन्नुभयो, “लोकतन्त्रको मेरुदण्ड नै सूचना र पत्रकारिता हो, यो भएन भने लोकतन्त्र अगाडि बढ्दैन, त्यसैले पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता गरे सबै समेटिन्छ ।”

अध्यक्ष झाले राससलेसमेत निर्वाचनका लागि आफ्नै आचारसंहिता बनाएर लागू गरेको जानकारी दिनुभयो । पत्रकारले आचारसंहिता थाहा छैन भन्न नपाउने भन्दै उहाँले आचारसंहिता बुझ्ने र त्यसलाई आत्मसात गरे कुनै समस्या नहुने बताउनुभयो ।

उहाँले आचारसंहिता थाहा भएर पनि कार्यान्वयन नगर्ने हो भने सत्यता मर्ने बताउनुभयो । पत्रकार आफैँले पार्टीको झण्डा बोकेर राजनीति गर्ने, आचारसंहिताविपरित एउटा दलका नेता, उम्मेदवार, मतदाता प्रभावित पार्नेगरी सञ्चारमाध्यम र पत्रकारले समाचार सम्प्रेषण गर्न नहुने भन्दै अध्यक्ष झाले पत्रकारले राजनीति बुझ्नुपर्छ तर राजनीति भने गर्न नहुने बताउनुभयो ।

सूचना तथा समाचारका माध्यमबाट कसैको पनि चरित्र हत्या हुने, मानहानि हुने, मानव अधिकार हनन हुने सामग्री सम्प्रेषण गर्न नहुने चर्चा गर्दै उहाँले निष्पक्ष समाचार रिर्पोटिङको सुनिश्चितता आवश्यक रहेको आँैल्याउनुभयो ।

सत्य, सन्तुलनको निर्वाह, विवेकको प्रयोग, गल्ती स्वीकार्ने तत्परता हुनुपर्ने र अर्काको नियतमाथि शङ्का गर्ने गरी समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो ।

अध्यक्ष झाले अहिले ६० प्रतिशत समाचार सामाजिक सञ्जालले फालिरहेको भन्दै सूचनाको भेल बगिरहेको अहिलेको अवस्थामा सञ्चारमाध्यम र पत्रकारले गहन भएर निष्पक्षताका आधारलाई टेकेर समाचार लेख्नुपर्ने बताउनुभयो ।

उहाँले निर्वाचनको समाचार सङ्कलन गर्दा ध्यान पु¥याउनुपर्ने विभिन्न आधारकाबारेमा जानकारी गराउँदै निर्वाचनका विषयसँग जोडिएका समाचारका स्रोतका बारेमा विस्तृत जानकारी गराउनुभयो । समाचारको स्रोत भेटिँदैन भन्ने हो भने त्यो पत्रकारले स्थलगत रिपोर्टिङ गर्दैन, ‘कपी पेष्ट’ गर्छ भन्ने बुझ्नुपर्छ भन्दै उहाँले मौलाउँदोरुपमा रहेको ‘कपी पेष्ट’ लाई रोकेर स्थलगत रुपमै पुगेर समाचार सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारले सधैँ प्रश्न जन्माउनुपर्नेमा जोड समग्रमा निर्वाचनको नतिजा आएपछि पनि मतपत्र कहाँ राखिन्छ, कत्तिको सुरक्षित हुन्छ, मत पेटिका कहाँ राखिन्छ जस्ता विषयमा समाचार सम्प्रेषण नहुने गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपाने निर्वाचन आयोगले सञ्चारमाध्यमबाट र पत्रकारबाट के चाहेको छ भन्नेबारेमा जानकारी गराउनुभयो । उहाँले आचारसंहिताका बारेमा जानकारी दिँदै पत्रकारले समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकार रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिलगायतले निर्वाचनलाई निष्पक्ष बनाउन पत्रकारले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्