नेपाल प्रज्ञा प्रतिष्ठान धरासायी बनाउन भत्ता र सुविधाको नाममा लुट, प्रज्ञा प्रतिष्ठान जोगाउन अदालतमा रिट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यता, कर्मचारी नियुक्ति र तलब–भत्ता वितरण प्रणाली खारेज गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

साहित्यकार तथा पत्रकार घनेन्द्र ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रतिष्ठानलाई विपक्षी बनाई शुक्रबार रिट दर्ता गरेका हुन् ।

आजीवन सदस्यता, कर्मचारी भर्ती र तिनीहरूले लिँदै आएको तलब–भत्ता सुविधा अनैतिक र गैरकानुनी हिसाबले अघि बढेकाले रिट हाल्नुपरेको ओझाले बताए । ‘भाषा साहित्यको सिर्जना, संवर्द्धन र विस्तार गर्ने ठाउँमा आजीवन सदस्यता, कर्मचारी तलब–भत्ताको नाममा राज्यलाई अनावश्यक आर्थिक भार बढेको छ,’ उनले भने, ‘यस क्षेत्रमा विशिष्ट योगदान दिने विद्वान् तथा स्रष्टाको सम्मान र कदर गर्नुपर्ने प्रावधान भए पनि प्रज्ञामा सबै ऐनविपरीत काम भइरहेका छन् ।’ पछिल्लो समय आजीवन सदस्य बनेका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती र साहित्यकार प्राज्ञसभा सदस्य आरडी प्रभास चटौतले राज्यको दोहोरो सुविधा लिइरहेकाले यसलाई गैरकानुनी मान्दै रिट दर्ता गरेको उनको भनाइ छ । गएको मंसिर २५ गते प्रतिष्ठानको ३८औं प्राज्ञ सभामा उप्रेती र चटौतलाई आजीवन सदस्यका रूपमा अनुमोदन गरिएको थियो । उप्रेती त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत्त प्राध्यापक र चटौत नेपाल सरकारका सेवा निवृत्त सहसचिव हुन् । यसरी प्रतिष्ठानमा दोहोरो सुविधा लिने प्रवृत्तिप्रति लेखक विद्वान्हरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा २८ मा रहेको आजीवन सदस्यतासम्बन्धी व्यवस्था खारेज गर्न र आजीवन सदस्यलाई मासिक तलब–भत्ता उपलब्ध गराउने नियमावली, २०६७ तथा मानार्थ प्राज्ञ सदस्यता एवं आजीवन सदस्यता प्रदान गर्नेसम्बन्धी मापदण्ड तथा कार्यविधि, २०६९ का प्रावधान खारेज गर्न पनि ओझाले माग गरेका छन् । प्राज्ञ सिफारिस समितिका अध्यक्ष संस्कृतिमन्त्री हुने व्यवस्थाले नियुक्तिमा राजनीतिक प्रभाव देखिएकाले ऐनको दफा ८ बमोजिमको सिफारिस समितिमा पनि उनले संशोधनको माग गरेका छन् । उप्रेती र चटौतभन्दा अघि पनि प्रतिष्ठानबाट तुलसी दिवस, ध्रुवचन्द्र गौतम, वासुदेव त्रिपाठीलगायतले दोहोरो सुविधा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्