मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदै,कस्लाई कुन मन्त्रालय ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०७९, मंगलवार
5 Min Read
Aa

काठमाडौं : सरकार बनेको तीन सातापछि सत्तारुढ दलहरूबीच मन्त्रालय भागबन्डा मिलेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार अबेर मन्त्रीहरूको भागबन्डा टुंग्याएको हो।

रास्वपाका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको भागबन्डा टुंगिएको बताए। उनले नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो शपथग्रहण गर्ने बताए। ‘मंगलबार १ बजे शपथग्रहण अगाडि दलहरूले आन्तरिक छलफल गर्ने भएकाले मन्त्रालय भागबन्डाको औपचारिक जानकारी दिन म असमर्थ छु,’ उनले भने। यद्यपि अब मन्त्रालय बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक नबस्ने लामिछानेले बताए।

मन्त्री लामिछानेले मन्त्रीहरूको शपथ ग्रहणपछिमात्र प्रधानमन्त्रीले बोलाएको कांग्रेससहितको सर्वदलीय बैठक बस्ने जानकारी दिए। उनले नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अहिले मन्त्रालय भागबन्डामा सहभागी नरहेको समेत बताए।

सोमबार भएको सहमतिअनुसार नेकपा एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३–३ मन्त्री र एक–एक राज्यमन्त्री दिने सहमति गरेको छ। त्यस्तै जनमत पार्टीले पनि एक मन्त्री पाउने छ। यो गठबन्धनको सबैभन्दा ठूलो दल एमाले हो र प्रतिनिधिसभाको दोस्रो ठूलो दल पनि हो। एमालेको प्रतिनिधिसभा ७९ सिट छ। उसले राष्ट्रपति र सभामुख पाउने सहमति भएको छ। माओवादी केन्द्र दोस्रो ठूलो शक्ति हो। जसको प्रतिनिधिसभामा ३२ सिट छ। जसले प्रधानमन्त्री पाइसकेको छ। तेस्रो ठूलो शक्ति रास्वपा हो। रास्वपाको २० सिट छ। उसले उप तथा गृहमन्त्री पाएको छ थप शिक्षा र श्रम मन्त्रालयमा पनि उसले पाउने सम्भावना छ। उसले उपसभामुख पनि पाउनेछ।

चौथो ठूलो दल राप्रपा हो। यो दल अहिलेसम्म सरकार सहभागी भएको छैन। उसले उपप्रधानमन्त्री मन्त्रीसहित शक्तिशाली मन्त्रालय पाउने सहमति भएको छ। ऊर्जा, सहरी विकास, युवा तथा खेलकुद पाउने देखिन्छ। राप्रपाको १४ सिट छ। ६ सिट भएको जनमत पार्टीले एक मन्त्री पाइसकेको छ। १२ सिट भएको जसपा २ मन्त्री दिने भनिएको छ। जसपाले उपराष्ट्रपति पनि मागिरहेको छ। ४ सिट भएको नागरिक उन्मुक्ति पार्टी आफ्नो माग पूरा नभएसम्म सरकारमा जन मानेको छैन।

मन्त्रिपरिषद्को विस्तार मंगलबार सर्वदलीय बैठक

पोखरामा विमान दुर्घटनाका कारण शोक बिदा दिएको कारण मंगलबार मात्रै मन्त्रिपरिषद्को विस्तार गर्ने सहमति पनि उच्चस्तरीय संयन्त्रको बैठकले गरेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएको तीन साता लागेको छ।

पुस १० मा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए भने पुस ११ मा उनको शपथ भएको थियो। ३ स्वतन्त्रसहित ७ दलका १ सय ६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए। दाहालले तीन उपप्रधानमन्त्री तथा चार मन्त्रीको शपथ गराएका थिए। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, उप एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उप एवं गृहमन्त्री रवि लामिछाने भए भने अन्य मन्त्रीमा दामोदर भण्डारी, राजेन्द्र राई, ज्वालाकुमारी साह र अब्दुल खान छन्। उनीहरू कार्य विभाजन हुन सकेको छैन। उनीहरू विनाविभागीय मन्त्रीका रूपमा छन्। 

दुई सातादेखि प्रधानमन्त्री दाहालले १८ मन्त्रालय समालिरहेका छन्। रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दाहालले समालिरहेका छन्।

प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वास मत लिएका थिए। उनलाई २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए भने २ जना विपक्षमा मत दिए। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र ३ स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए।

पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका दाहालले अहिलेसम्म ओलीसँग सातपटक एक्लाएक्लै भेटेर कुरा गरिसकेका छन्। प्रधानमन्त्री दाहाल कहिले ओली निवास बालकोट पुग्थे भने कहिले ओली बालुवाटार पुग्थे। यसैबीच सोमबार बिहान दाहाल र ओलीबीच लामो संवाद भयो। लन्च बैठकमा नै मोटामोटी रूपमा मन्त्रालयको टुंगो लागेको हो।

आइतबार पनि दाहाल र ओली संवाद भएको थियो। लन्च बैठकपछि नै उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाइएको हो। भागबन्डामा उच्चस्तरीय बैठकमा सहमति भए पनि मंगलबार मन्त्रिपरिषद्को विस्तारसँग मन्त्रालयको बाँटफाँटको विषय सार्वजनिक गर्ने तयारी सत्ता साझेदार दलको छ।

मन्त्रिपरिषद्को विस्तार मंगलबार सर्वदलीय बैठक बोलाइएको छ। विश्वासको मत दिने कांग्रेससहितको बैठकमा समसामयिक विषयमा छलफल हुने उपप्रधानमन्त्री पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array