नेपालमा ५२ जहाज, ५३ विमानस्थल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०७९, मंगलवार
8 Min Read
Aa

नवीन अर्याल नेपालमा आर्थिक र प्राविधिक सम्भाव्यता अध्ययन नै नगरी मतदाता रिझाउन नेताको दबाबमा धमाधम एयरपोर्ट निर्माण गरिएका छन् । हरेकजसो मन्त्री वा सांसदले आफ्नो जिल्लामा विमानस्थल लैजान तीव्र लबिङ गर्ने गरेका छन् । तर, राजनीतिक शक्तिका भरमा एयरपोर्ट निर्माण गरेर सञ्चालनमा ल्याइए पनि त्यसको सञ्चालन, संरक्षण र हवाई सुरक्षामा भने त्यति चासो दिएको पाइँदैन ।हाल देशभर तीनवटा अन्तर्राष्ट्रियसहित ५३ विमानस्थल निर्माण भइसकेका छन् । अझै अर्घाखाँची र कालीकोटमा थप दुईवटा विमानस्थल निर्माणाधीन अवस्थामा छन् । व्यक्तिगत रूपमा राजनीतिक र आर्थिक फाइदा लिने गरी सम्भाव्यता अध्ययन नगरी विमानस्थल निर्माण गर्दा २० वटा विमानस्थल सञ्चालनमै आउन सकेका छैनन् । ती विमानस्थल गौचरनमा परिणत भएका छन् ।

नेताहरूले आफ्नो जिल्लामा एयरपोर्ट आयोजना लागेको विषयलाई नकारात्मक रूपमा लिन नहुने भए पनि एयरपोर्ट निर्माणपछि सञ्चालन, संरक्षण र हवाई सुरक्षामा उनीहरूले उल्लेखनीय चासो नदिनु चिन्ताको विषय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम बताउँछन् । ‘देश विकास हुनुपर्छ, एयरपोर्ट बनाइनुपर्छ, जनतालाई सेवा दिनु नराम्रा विषय होइन, तर सञ्चालनमा किन आएनन् ? सुरक्षा सुविधा किन थपिँदैनन् ?’ उनले भने, ‘जसरी एयरपोर्ट बनाउँदा तीव्र लबिङ गरिन्छ, पहल गरिन्छ, त्यसरी नै एयरपोर्ट सञ्चालनदेखि हवाई सुरक्षा प्रबन्धमा पनि उत्तिकै पहल र लबिङ आवश्यक छ ।’

देशमा बनाइएका ११ विमानस्थलको लगानी खेर जाने महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा औँल्याएको छ । नेपालमा हिमाली र पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइल दूरीमा विमानस्थल हुनुपर्छ । तर, डोल्पाको जुफाल र मसिनेचौर, गुल्मी, ओखलढुंगाको खिजी र चण्डेश्वरी, रामेछाप, फाप्लु, कागेलडाँडा, रुम्जाटार, कालिकोट र साँफेबगर विमानस्थलले मापदण्ड पूरा नगर्ने हुँदा नियमित उडान–अवतरणमा समस्या हुने महालेखाको जिकिर छ ।

बाग्लुङ, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, पालुङटार, गुल्मी, जिरी, कमल बजार, कागेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनोचौर (डोल्पा), मेघौली, रोल्पा, रुम्जाटार, स्याङबोचे र टीकापुर विमानस्थलमा उडान हुँदैन । अर्घाखाँची र कालीकोटमा पनि प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन नगरी विमानस्थल निर्माण सुरु गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, नेपालगन्ज, बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा (जुफाल), डोटी, फाल्गुनन्द सुकिलुम्बा (इलाम), जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, फाप्लु, राजविराज, रामेछाप, रारा, सल्ले (रुकुम), साँफेबगर, सिमरा, सिमिकोट, सुर्खेत, ताप्लेजुङ, लुक्ला, थामखर्क र तुम्लिङटार विमानस्थल मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका विमानस्थल पनि धेरैमा निकै न्यून मात्र उडान हुने गरेको छ । कतिपय विमानस्थलमा सातामा एक–दुईवटा मात्र उडान हुने गरेका छन् ।

तँछाडमछाड गरेर एयरपोर्ट निर्माण गर्ने नेतृत्वले नै त्यसको सञ्चालनका लागिसमेत जोड दिनुपर्ने पूर्वमहानिर्देशक गौतम बताउँछन् । ‘नेपालका जनताको क्रयशक्ति कम छ, बजार छैन, यद्यपि सेवा–सुविधा त दिनैपर्छ,’ उनले भने, ‘तर, जसले एयरपोर्ट स्थापनामा जोड दियो, उनीहरूले सञ्चालनमा समेत जोड दिनुपर्छ ।’

गुल्मीको रेसुंगा, बाग्लुङको बलेवाजस्ता सात–आठवटा विमानस्थलमा कालोपत्रे भइसके पनि उडान हुँदैन । यी विमानस्थलहरूमा राज्यले ठूलो लगानी गरिसकेको छ, तर उडान नहुँदा ‘राज्यको लगानी बालुवामा पानी’जस्तै भइरहेको छ । देशमा निर्माण गरिएका ४० विमानस्थल कालोपत्रे भइसकेको क्यानको तथ्यांक छ । जबकि, ३३ विमानस्थल मात्र अहिले सञ्चालनमा छन् । एकै वर्ष देशमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् ।

२ जेठमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा ३१ अर्बभन्दा बढी लगानी भइसकेको छ । यस्तै, १७ पुसदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा २७ अर्बभन्दा बढी खर्च भएको छ । पोखरा विमानस्थल निर्माणका लागि चीनबाट २ प्रतिशत ब्याजमा ऋण लिइएको हो । तर, यी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ । भैरहवामा जजिरा र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि अहिले रोकेका छन् ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने–नहुने अझै निश्चित भइसकेको छैन । पोखरामा साना न्यारोबडी जहाजले मात्र अन्तर्राष्ट्रिय उडान गर्न सक्ने हुँदा विमानस्थल आर्थिक रूपमा सम्भाव्य नभएको हवाई पूर्वाधारविज्ञ बताउँछन् । आइतबार यती एयरलाइन्सको एटिआर–७२ जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त भएपछि पोखरा विमानस्थलको प्राविधिक पाटोमाथि पनि प्रश्न उठ्न थालेको छ ।

नेपालको आन्तरिक उडानतर्फ जहाजभन्दा एयरपोर्टको संख्या धेरै रहेको छ । ५३ वटा एयर बनिसक्दा आन्तरिक उडान गर्ने जहाज भने ५२ वटा मात्र रहेका छन् । नेपालमा आन्तरिक उडानतर्फ नौवटा वायुसेवा (फिक्स्ड विङ) कम्पनी र १२ वटा हेलिकोप्टर (रोटर विङ) रहेका छन् । बुद्ध एयरसँग १४ वटा एटिआर–७२ र एटिआर–४५२ तथा दुईवटा साना जहाज छन् । श्री एयरलाइन्ससँग ठूला आठवटा जहाज छन् भने यती एयरलाइन्ससँग पाँचवटा एटिआर–७२, सौर्यसँग तीनवटा जहाज छन् । यतीका ६ जहाजमध्ये एउटा पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

यस्तै, दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्ने साना जहाजहरू समिट एयरसँग चार, तारा एयरसँग तीन, सीता एयरसँग चार, गुण एयरलाइन्ससँग सात र नेपाल वायुसेवा निगमसँग दुईवटा जहाज छन् । तारासँग चारवटा साना जहाज रहेकामा एउटा जहाज १५ जेठमा मुस्ताङमा दुर्घटनाग्रस्त भयो । नेपाल एयरलाइन्ससँग रहेका पाँचवटा चिनियाँ जहाजहरू अहिले घाम तापेर बसिरहेका छन् ।

 नौ विमानस्थलमा रात्रि उडान 
देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थलमा रात्रिकालीन उडान गर्न मिल्ने सुविधा उपलब्ध भएको छ । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आए पनि अझै राति उडान सुरु भएको छैन ।

आइएफआर उडान सुरु भएपछि पोखरामा पनि राति उडान सुरु हुने क्यानले जनाएको छ । क्यानले अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा र राति उडान सुविधा भएका आन्तरिक विमानस्थल १८ घन्टासम्म खुला रहने व्यवस्था गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए), विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगन्ज र सिमरा विमानस्थलमा अहिले धमाधम रात्रिकालीन उडान भइरहेका छन् । यी विमानस्थलमा आइएफआर प्रविधि जडान गरिएको हुँदा रात्रि उडान सम्भव भएको हो । आइएफआर प्रविधिमा कम्तीमा १६ सय मिटर र भिएफआर प्रविधिमा कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी चाहिने हवाई पूर्वाधारविज्ञको भनाइ छ ।

आवश्यकताले नै विमानस्थल बनेका हुन् : वीरेन्द्र देउजा, पूर्वमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
सबै हवाई पूर्वाधार अनावश्यक निर्माण गरिएको भन्न मिल्दैन । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले चलेको भनेको त्यही त्रिभुवन विमानस्थल त हो । अरू त भर्खर सुरु भएका छन् । त्यसबाहेक आन्तरिक उडान प्रयोजनका लागि मात्रै निर्माण भएका हुन् । केही स्टल एयरपोर्ट छन् ।

दुर्गम क्षेत्रमा बनेका विमानस्थलहरू अनावश्यक होइनन्, त्यहाँको आवश्यकता हो । पहुँच नभएका भौगोलिक रूपमा जटिल क्षेत्रमा विमानस्थलका विकल्प पनि छैनन् । अहिलेको समयमा बनेको एयरपोर्ट आफ्नै कमाइले धानिने अवस्थामा छन् कि छैनन् भनेर हेरिनुपर्छ । सबै राजनीतिक नेताहरूले पनि त्यसै आफ्नो क्षेत्रमा विमानस्थल लगेका छैनन् ।

उनीहरू जनताका प्रतिनिधि हुन् । मागअनुसार नै योजना बन्ने हो । एयरपोर्टका लागि बन्ने पूर्वाधार कहिल्यै पनि खेर जाँदैन । ती जमिनमा एयरपोर्ट नै नचल्ने अवस्था बन्यो भने पनि त्यहाँ विद्यालयलगायतका अन्य संरचना बनाउन सकिन्छ । कुनै नेताले आफ्नो स्वार्थ पूरा गर्नका लागि यसो गरेका छैनन् भन्न मिल्दैन ।

हवाई सुरक्षामा पहल आवश्यक : यज्ञप्रसाद गौतम पूर्वमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण 
देश विकास हुनुपर्छ, एयरपोर्ट बनाइनुपर्छ, जनतालाई सेवा दिनु नराम्रा विषय होइन, तर सञ्चालनमा किन आएनन् ? सुरक्षा सुविधा किन थपिँदैनन् ? जसरी एयरपोर्ट बनाउँदा तीव्र लबिङ गरिन्छ, पहल गरिन्छ, त्यसरी नै एयरपोर्ट सञ्चालनदेखि हवाई सुरक्षा प्रबन्धमा पनि उत्तिकै पहल र लबिङ आवश्यक छ ।

नेपालका जनताको क्रयशक्ति कम छ, बजार छैन, यद्यपि सेवा–सुविधा त दिनैपछ । तर, जसले एयरपोर्ट स्थापनामा जोड दियो, उनीहरूले सञ्चालनमा समेत जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array