साक्षरता र आजीवन सिकाइको पुनः व्याख्या गर्न सुझाव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ माघ २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ, शिक्षाविद्, सरोकारवाला तथा अभियानकर्मीले मुलुकमा सञ्चालित आजीवन सिकाइ र साक्षरता कार्यक्रमबारे पुनः व्याख्या गर्नुपर्ने सुझाव दिएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल र ग्लोबल एक्सन नेपालले आज यहाँ आयोजना गरेको छलफलमा उहाँहरुले युवालाई साक्षरता कार्यक्रमले नयाँ सीप विकास गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले युवामा आत्मविश्वास बढाउन, जीवनस्तर सुधार गर्दै साक्षरता दर बढाउन तथा रोजगारी वृद्धि गरी गरिबी न्यूनीकरण गर्न सिकाइले मद्दत पुर्‍याउनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य नं ४ लगायत लक्ष्य नं ५, ८ र १० हासिल गर्न प्रौढ शिक्षा तथा सिकाइको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तर सिकाइ र साक्षारता कार्यक्रमसँग जोड्न सहभागीहरूले सुझाव दिनुभएको थियो ।

हाल नेपालमा पाँच वर्षमाथिको साक्षरता ७८ प्रतिशत छ भने १५ वर्षभन्दा माथि उमेर समूहमा साक्षरता ५८ प्रतिशत छ । सरकारले लामो समयदेखि साक्षर नेपाल कार्यक्रम सञ्चालन गर्दै आए पनि मधेस प्रदेशका आठसहित विभिन्न प्रदेशका १५ जिल्ला र एक सय ७५ स्थानीय तह अझै साक्षर घोषणा भएका छैनन् ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले सिकाइ अनन्तकालसम्म चलिरहने प्रक्रिया भएकाले यसलाई निरन्तर र प्रभावकारीरूपमा सञ्चालन गर्न सबैको भूमिका आवश्यक भएकामा जोड दिनुभयो ।

शिक्षाविद् डा विद्यानाथ कोइराला, डा मनप्रसाद वाग्ले, अभियन्ता विमलकुमार फुयाँल र टीका भट्टराईले प्रत्येक मानिस जन्मेदेखि सिक्दै आएका विषय आजीवन सिकाइमा पर्ने भएकाले समाज सुहाउँदो सिकाइ अभिवृद्धिका लागि स्थानीय तह प्रभावकारी हुनुपर्ने बताउनुभयो । शिक्षाविद् डा वाग्लेले प्राविधिक शिक्षालाई अनौपचारिक शिक्षासँग तालमेल गर्न सके सकारात्मक नतिजा आउने बताउनुभयो ।

केन्द्रका महानिर्देशक चूडामणि पौडेलले संविधानले शिक्षा तथा सिकाइमा सबैको पहुँच हुनुपर्नेमा जोड दिएको बताउनुहुँदै यसको कार्यान्वयनका लागि सरकार, नागरिक समाजलगायत सरोकारवाला सबैले संयुक्तरूपमा काम गर्नुपर्ने बताउनुभयो ।

एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले साक्षर नेपालको सङ्कल्प पूरा गर्न नागरिक समाज सक्रिय हुनुपर्ने बताउनुभयो । त्यस्तै, ग्लोबल एक्सन नेपालका राष्ट्रिय निर्देशकले सामाजिक परिवेश अनुरुपका सिकाइको सबल पक्षलाई आत्मसात् गरेर अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दा आयआर्जन र रोजगारी वृद्धिमा योगदान पुग्ने भनाइ व्यक्त गर्नुभयो ।

सन् २०२२ जुनमा मोरोक्कोमा सम्पन्न प्रौढ शिक्षा तथा सिकाइको सातौँ अन्तर्राष्ट्रिय सम्मेलनमा एक सय ४० भन्दाबढी राष्ट्रका प्रतिनिधिहरुले ‘माराकेच फ्रेमवर्क फर एक्सन’ जारी गर्दै प्रौढ शिक्षा तथा जीवनपर्यन्त सिकाइलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि उक्त ढाँचामा प्रतिबद्धता व्यक्त गर्दै समर्थन दिएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array