मजदुरीका भरमा सीमा क्षेत्रका बासिन्दा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ माघ २०७९, आईतवार
4 Min Read
Aa
कञ्चनपुर,

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाईं नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आउनुभएको छ । उहाँलाई थातथलो डडेल्धुराको अजयमेरु गाउँपालिबाट चौपायासहित लिएर आएको ३५ वर्ष नाघेको छ । सहज जीवनयापनको खोजीमा उहाँ तराई झर्नुभएको हो ।

श्रीमती, छोरी र ज्वाइँसँग दमाइँ बस्दै आउनुभएको छ । परम्परागत पेसा सिलाइ–कटाइ भए पनि सीप सिक्न नसक्दा उहाँले मजदुरी गरेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । “पहाडमा आफ्नो भन्ने सम्पत्ति थिएन”, उहाँले भन्नुभयो, “जीविका चलाउनै धौधौ हुन थालेपछि तराई झरेको हुँ, पहिला तराईमा आएर ठाउँ हेरे त्यसपछि बसाइँ सारे ।”

उमेर छँदा नजिकको वन क्षेत्र र महाकाली नदीले बगाएर ल्याउने दाउरा सङ्कलन गरी भारतीय बजार टनकपुर पुगेर बेच्ने गरेको उहाँले बताउनुभयो । “दाउराको भारी पिठ्यूँमा बोकेर भारतीय बजारमा बेच्दा साँझ–बिहानको छाक टार्दै आएको थिए”, उहाँले भन्नुभयो, “दाउरा सङ्कलन नगरेका बेला मजदुरी गर्थे, अहिले उमेर ढल्किँदै जाँदा दाउरा बोक्न सक्दैन, मजदुरी गर्न सकिने अवस्था छैन ।”

उहाँका छोरीज्वाइँले भारतीय बजारमा मजदुरी गरी कमाएर ल्याएको पैसाबाट उहाँको परिवारको खर्च धानिँदै आएको छ । मुक्तहलिया पुनस्र्थापन कार्यक्रमअन्तर्गत दमार्इंले सरकारीतर्फबाट घर पाउनुभएको छ । उहाँले घरको छानो भने बनाउन पाउनुभएको छैन । भारतीय सुरक्षाकर्मीले छानोमा जस्तापाता राख्न नदिएपछि प्लास्टिकको त्रिपाल राखेको उहाँ बताउनुहुन्छ ।

दशगजा क्षेत्रमा दमाईं परिवारले बसोबास गर्दै आएको जग्गा पर्छ भन्दै भारतीय सुरक्षाकर्मीले पाँच वर्षअघि त्रिपाल राख्न नदिएको उहाँ सुनाउनुहुन्छ । भारतीय पक्षबाट सताउने कार्य भने नभएको उहाँले बताउनुभयो । उहाँ जस्तै पुनस्र्थापन कार्यक्रमअन्तर्गत घर पाएका चार परिवारले घरको छानोमा जस्तापाता राख्न पाएका छैनन् ।

परदेशी जस्तै सीमा क्षेत्रमा बस्दै आएका मदन सार्कीको घरको छानोमा पनि त्रिपाल राखिएको छ । त्रिपालबाट बर्सातका बेला पानी चुहिन्छ, भिज्दै रात काट्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

“आर्थिक विपन्नताका कारण उपचार गर्न नसक्दा भाइ र बुबाको यसै क्षेत्रमा मृत्यु भो”, उहाँले भन्नुभयो, “तीन दशकदेखि बस्दै आए पनि विपन्नता भएका व्यक्तिका लागि कुनै निकायबाट आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम आउन सकेका छैनन् ।”

सीमा क्षेत्रमा बस्दै आएका परिवारको एक मात्रै कमाईको साधन मजदुरीबाहेक अर्को विकल्प नभएको उहाँले सुनाउनुभयो । “मजदुरी पाइएका बेला पेटभरि खान पाइन्छ”, उहाँले भन्नुभयो, “मजदुरी नपाइए कैयौँ दिन भोकै पनि रहेका छौँ ।”

सीमा क्षेत्रकै गाउँ ब्रह्मदेवमा बस्दै आउनुभएकी बसन्ती ढिकालसँग पनि आफ्नो स्वामित्वको जग्गा र घर छैन । अर्काको जग्गामा झुपडी बनाएर बस्दै आउनुभएकी ढिकालका श्रीमान् भारतमा कमाउनका लागि गएको पाँच वर्ष बिते पनि घर फर्किनुभएको छैन ।

दुई सानै उमेरका छोरा र आफ्नो खर्च धान्नका लागि उहाँले मजदुरी गर्दै आउनुभएको छ । घर खर्च चलाउनका लागि उहाँले अहिले बाख्रा चराउने काम पाउनुभएको छ । बाख्रा चराउने कार्य गरेबापत उहाँले महिनामा आठ सय भारतीय रुपैयाँ पाउनुहुन्छ । प्रतिबाख्राको एक सय भारतीय रुपैयाँका दरले रकम पाउने गरिएको छ । बाख्रा चराएर आउने रकमले घर खर्च चलाउन धौधौ भएको उहाँले बताउनुभयो ।

उहाँका दुवै छोरा नजिकैको सामुदायिक विद्यालयमा पढ्दै आएका छन् । “माइतीले खानाका लागि अन्नको सहयोग गर्ने भएकाले जीविका चलेको छ”, उहाँले भन्नुभयो, “बाख्रा चराएर आउने रकमले खर्च धान्न सकिँदैन ।”

सीमा क्षेत्रमा बसोबास गर्दै आएका विपन्न परिवार सीपमूलक तालिम उपलब्ध गराई व्यवसायतर्फ उन्मुख गराउनुपर्ने बताउनुहुन्छ । विना धितोको कर्जाको व्यवस्था गरी व्यावसायिक कार्यमा संलग्न गराउनुपर्ने उहाँहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

Array