अमेरिकी उच्च अधिकारीद्वारा सातैपिच्छे नेपाल भ्रमण, काठमाडौंसँगको दूरी छोट्याउँदै अमेरीका

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०७९, बुधबार
5 Min Read
Aa

काठमाडौं ।  दुई महिना पुग्दै गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग वासिंगटनले ‘बलियो सम्बन्ध’ बनाउन खोजेको संकेत गरेको छ । अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरियो नुल्यान्डको भ्रमण भएको एक सातापछि नै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रशासक सामन्था पावरले पनि नेपाल भ्रमण गरेबाट यो संकेत मिलेको हो ।

काठमाडौंसँगको दूरी छोट्याउँदै वासिंगटन

नेपालमा कम्युनिस्ट सरकार बन्नेबित्तिकै चीन समर्थक र कांग्रेस सरकार बन्नेबित्तिकै भारत समर्थकको ‘बिल्ला’ भिराउने परम्परागत विचार अन्त्य गर्नुपर्ने र छिमेकी मित्रराष्ट्रसँग निःस्वार्थ सम्बन्ध स्थापित गर्दै आएको संकेत दिन यी भ्रमण सफल हुने नेपाली अधिकारीको विश्वास छ ।

सामन्थाको भ्रमणपछि अर्काे अमेरिकी उच्चपदस्थ अधिकारीले फेब्रुअरी मध्यतिर नेपाल भ्रमण गर्ने कार्यक्रम छ । यसबाट वासिंगटनले काठमाडौंसँगको दूरीलाई नजिक बनाउन चाहेको स्पष्ट देखिन्छ ।

नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सलगायत दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो (एससीए)का उपसहायक सचिव अफ्रिन अख्तरका साथै सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिला कार्यालयबाट फेब्रुअरी मध्यमा नेपाल भ्रमण तयारी भइरहेको स्रोत बताउ“छ ।

ठूला शक्तिको आफ्नै भू–रणनीतिक महत्वाकांक्षा हुनु स्वाभाविक हो । अमेरिकाले चीनलाई सैन्य रूपमा नियन्त्रण गर्न आफ्नो ‘इन्डो प्यासिफिक रणनीति’ ल्याएको छ भने चीनले यसलाई सन्तुलनमा राख्न ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’लाई जोड दिएको छ ।

एक उच्च नेपाली अधिकारी अमेरिका–चीन ‘भू–राजनीतिक प्रतिस्पर्धाबाट नेपाल कति पनि अलमलमा पर्न नहुने र आफ्नो स्वतन्त्र विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिन्छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । जसका कारण नेपालले अमेरिकालाई टाढाको छिमेकीका रूपमा हेर्दै आएको छ ।

सामन्थाको पछिल्लो नेपाल भ्रमण सन् २००२ पछिको उच्चस्तरको हो । सन् २००२ मा पूर्वअमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालमा सशस्त्र द्वन्द्वका बेला काठमाडौं भ्रमण गरेकी थिइन् । सामन्थाले ओबामा विडेन प्रशासनमा हुँदा संयुक्त राष्ट्रसंघका लागि २८औं अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवा गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर काठमाडौं ओर्लिएलगत्तै भक्तपुर सानो ठिमीस्थित आदर्श माध्यमिक विद्यालय पुगेकी थिइन् ।

नेपाल भ्रमणक्रममा सामन्थाले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग नेपाललाई थप लोकतान्त्रिक समृद्ध समावेशी र लचिलो देश निर्माण विषयमा छलफल गर्ने यूएसएआईडीको वेबसाइटमा उल्लेख छ ।

उनले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्ष लामो साझेदारीलाई जोड दिएकी छन् । नयाँ सरकारसँगको संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धता उजागर गरेकी छन् ।

संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभ सुदृढ गर्न गति निर्माण गर्ने उनले बताएकी छन् । यूएसएआईडीको १९औं प्रशासकका रूपमा सामन्था पावरले ३ मे २०२१ मा पदभार ग्रहण गरेकी हुन् ।

एमसीसी विषयमा चर्काे राजनीतिक बहस भएपछि अमेरिका र चीन प्रतिद्वन्द्वीजस्तो देखिएको थियो । अमेरिकी इन्डो प्यासिफिक रणनीतिको अभिन्न अंगका रूपमा एमसीसी रहेको भन्दै विरोधसमेत भयो । त्यतिबेला विरोधबाबजुद नेपालको संसद्ले एमसीसी अमुमोदन ग-यो ।

‘एमसीसी नेपाल कम्प्याक्ट’ पारितलगत्तै अमेरिकाले नेपाललाई ६५ करोड ९० लाख अमेरिकी डलर सहयोग स्वीकृत ग¥यो । यसलाई यूएसएआईडीले कार्यान्वयन गरिरहेको छ ।

सामन्थाले मंगलबार यूएसएआईडीले सहयोग गर्ने भनेको ५ करोड ८५ लाख अमेरिकी डलरमध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको एउटा अंश हो ।

यूएसएआईडी नेपाललाई ७ अर्ब सहयोग घोषणा
नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख प्रशासक सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी छन् ।

नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि आर्थिक सहयोग घोषणा गरिएको जनाएको छ । सो रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्तामाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ ।

सो घोषणा रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।

घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही बनेर सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धि सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको अमेरिकाले जनाएको छ ।

अमेरिकाले स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम पनि यसमा राखेको छ ।

नयाँ लगानी नेपालका लक्ष्य र आकांक्षालाई टेवा पु-याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको यूएसएआईडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्