लागुऔषध दुव्यर्सनी अपराध नभएको सरोकारवालाले दाबी गरेका छन्

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ,  लागुऔषधको प्रयोग अपराध नभएको सरोकारवालाले दाबी गरेका छन् । लागुऔषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलामा बोल्ने वक्ताले लागुऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा हेर्न नहुने बताएका हुन् ।

नेपालको कानूनले लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा समस्या बनेको उनीहरूको भनाइ थियो । लागुऔषधको प्रयोग एउटा रोग भएको बताउँदै उनीहरूले यसलाई सुधार गर्नका लागि राज्य र समाज एक भएर लाग्न जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा रोगको रूपमा फैलने भन्दै यसलाई रोक्न सबै एक हुन जरुरी रहेको बताउनुभयो । लागुऔषध प्रयोगकर्ता कम गर्न विद्यालयस्तरबाट सचेतना जगाउन जरुरी रहेको उहाँको भनाइ थियो । लागुऔषध प्रयोगकर्ता पुनःजीवन पाएपछि समाजमा फर्कंदा हुने भेदभावको अन्त्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले लागुऔषधसम्बन्धी मुद्दा जटिल भए पनि प्रयोगकर्ता कम हुन नसक्नु समस्याका रूपमा रहेको बताउनुभयो । प्रयोगकर्तालाई अपराधीका रूपमा नहेरी रोगको रूपमा हेरेर समाजबाटै सुधार गर्न सकिने उहाँको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले समाजमा हुने गरेका अपराधका क्रियाकलापमा लागुऔषधको हिस्सा रहेको बताउनुभयो । यसलाई रोगका रूपमा लिएर परिवारबाट समाधान खोज्न सके प्रभावकारी हुने उहाँले बताउनुभयो ।

सेभ द चिल्र्डेनका प्रतिनिधि ड्यारेनजी शेर्पाले लागुऔषधसम्बन्धी कानून परिवर्तन हुन नसक्दा समाजमा ठूलो समस्याका रूपमा लागुऔषध प्रयोगकर्ता रहेको बताउनुभयो । कानूनीरूपमा जाँदा अपराधीका रूपमा हेरिँदा उनीहरूको मनोबल गिर्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समाज परिवर्तनका लागि पनि लागुऔषध प्रयोगकर्तालाई अपराधी नभई रोगीका रूपमा हेरिनु जरुरी छ ।”

बोल्दै द रिकोभरी नेपालका कार्यकारी निर्देशक विष्णु फुँयाल शर्माले नेपालमा अहिले एक लाख ३२ हजार लागुऔषध प्रयोगकर्ता रहेको जानकारी दिनुभयो । लागुऔषध प्रयोगकर्तामध्ये ५० प्रतिशत विवाहित रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय लागुऔषधको प्रयोग गर्नेहरूमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका बढी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषध प्रयोगकर्तामध्ये सुइको प्रयोग गर्ने अधिकांशलाई हेपाटाइटिस बीको सङ्क्रमण देखिएको छ ।” यसलाई रोक्नका लागि राज्यले पुनःस्थापना केन्द्रलाई क्षमता अभिवृद्धि तालिम, व्यवस्थापनसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । लागुऔषध प्रयोगकर्तालाई सुधार गर्ने खालका कानून आउन नसक्नु दुःखद् रहेको उहाँको भनाइ थियो ।

भेलामा तीनवर्षे अभियानको समेत सुरु गरिएको छ । ‘स्वास्थ्य रोजाँै लागुऔषध होइन’ भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष दिलीप गुरुङ र प्रदेश अध्यक्ष दिवाकरराज श्रेष्ठले लागुऔषध प्रयोग घटाउन समुदायस्तरबाट एक भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँहरूले लागुऔषध प्रयोगकर्ता अपराधी नभएको बताउनुभयो । भेलाले दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । आज र शुक्रबार हुने भेलामा देशभरका एक सय ५० पुनःस्थापना केन्द्रका प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array