‘महिलाको प्रतिनिधित्व बढाउन दलभित्र शुद्धीकरण आवश्यक’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
3 Min Read
Aa

काठमाण्डौं । सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् ।

आज बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी कानुनी व्यवस्था र वर्तमान अवस्थाबारे भएको छलफलमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा नेताहरुले राजनैतिक दल लैङ्गिकमैत्री बन्नुपर्नेमा जोड दिए ।

समितिका सभापति दिलकुमारी रावल पार्वतीले समानुपातिक समावेशी प्रतिनिधित्वका लागि राजनीतिक दल उत्तरदायी बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय संसद् र प्रदेशसभाबाट बनाइने कानुन संविधानमा भएको व्यवस्थाअनुसार महिलामैत्री बनाउन सांसद सचेत हुनुपर्छ ।”

उहाँले समानुपातिक प्रतिनिधित्वमा विगतमा धेरै पटक राजनीतिक दललाई निर्वाचन प्रणाली विषयमा समितिले उत्तरदायी बनाउन छलफल भएको गरेको बताउनुभयो । बैठकमा जुरी नेपालका अधिवक्ता मोहनलाल आचार्यले समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी कानुनी व्यवस्था र वर्तमान अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संविधानको धारा ३८ मा टेकेर महिला अधिकारका लागि कानून नबनेको बताउनुभयो ।

उहाँले राजनैतिक दल आफैँमा लैङ्गिकमैत्री नहुनु मुख्य चुनौती भएको बताउनुभयो । उहाँले ३३ प्रतिशत प्रतिनिधित्व हो वा समानुपातिक हो भन्ने विषयमा स्पष्टता नभएको बताउनुभएको थियो ।

नेकपा (एमाले)का सांसद महेश बर्तौलाले दलभित्र लैङ्गिकमैत्री वातवरण तयार नभएसम्म महिला नेतृत्वको सहभागिता बढ्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दलभित्र लैङ्गिकमैत्री वातावरण बन्नुपर्छ । अर्कातर्फ महिलाभित्र पनि चेपाङ, मुसहर, दलित र सिमान्तकृत समुदायको प्रतिनिधित्व हुन आवश्यक छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले महिला नेतृत्वले महिलाकै मुद्दा र जनताको मुद्दा उठाउन नसक्दा नेतृत्वप्रति विश्वास प्राप्त गर्न नसकेको बताउनुभयो । “महिला भएकै कारण नेता बन्ने भन्दा पनि महिला नेताहरुले आफ्नो क्षमताको विकास र जनताको मुद्दा बुझ्नतर्फ ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले दलीय शासनमा दल सुधार नभएसम्म महिला, आदिवासी र जनजातिका मुद्दाअघि बढ्न नसक्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता देवी खड्काले समानुपातिक सहभागिताका लागि दलभित्र सुधार गर्न आवश्यक भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “समस्या पार्टीभित्र छ । पार्टी शुद्धिकरण नगरेसम्म समानुपातिक सहभागितामा सुधार हुन सक्दैन ।”

रास्वपाका सांसद सुमना श्रेष्ठले निर्वाचनमा हुने फजुल खर्च नियन्त्रण गर्नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा बिना पनि निर्वाचनमा उम्मेदवार बन्न र निर्वाचित हुन सकिन्छ भन्ने वातवरण बनाउन आवश्यक छ । यसले उम्मेदवारमा आत्मविश्वास बढ्छ ।” उहाँले निर्वाचनका समयमा उम्मेदवारले भड्किलो खर्च नगर्ने संयन्त्रको व्यवस्था गर्नपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको सहभागिता बढाउने, प्रतिनिधित्व गर्ने महिलाबीच एकताबद्ध आवाज बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array