‘हायु जातिको विकासमा स्थानीय सरकार कटिबद्ध’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa
कमलामाई (सिन्धुली),

लोपोन्मुख जाति हायुको सीप र पहिचान विकासका लागि कमलामाई नगरपालिका कटिबद्ध रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।

हायुको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक, सामाजिक विकासका लागि आफू कटिबद्ध रहेको उहाँले बताउनुभयो । सिन्धुलीमाढीमा आयोजित हायु एकता समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “विविध जातजाति, भाषाभाषी, धर्म, परम्परा, संस्कार र संस्कृति संरक्षणका लागि कमलामाई नगरपालिकाले नीति तथा कार्यक्रम बनाएको छ । यहाँको स्थानीय सरकारले पूर्ण साथ र सहयोग गर्नेछ ।”

हायु जातिको कला, संकृति, पहिचान झल्किने र बचाउने सङ्ग्रहालय बनाउन स्थानीय सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत जनाउनुभयो । आफ्नो जातजाति, भाषाभाषी, धर्म, पराम्परा, संस्कार र संस्कृति जर्गनाका लागि हायु सङ्ग्रहालय सञ्चालन गर्न लाग्न पनि उहाँले हायु समुदायका अगुवालाई अनुरोध गर्नुभयो । यसका लागि नीति तथा कार्यक्रम नगरले बनाइसकेको र आवश्यकताअनुसार थप गर्दै जाने उहाँले स्पष्ट गर्नुभयो । उहाँका अनुसार कमलामाई नगरपालिकामा मात्रै एक हजार ५७ हायु जातिले सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्दछन् ।

गोलञ्जोर गाउँपालिका प्रमुख शङ्करराज बरालले हायु जातिको संरक्षण र सभ्यताका लागि गाउँपालिकाले रचनात्मक र सकारात्मक काम गर्ने आश्वासन दिनुभयो । हायु एकता समाज नेपालका अध्यक्ष टलकबहादुर हायुको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा आदिवासी जनजाति महासङ्घ नेपालका महासचिव दिवस राईले हायु जातिको भाषा, संस्कार र संस्कृतिको संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array