उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’ गरी छोडियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई हिजो दिनभरि ‘होल्ड’ गरी छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरेको थियो । होल्ड भएका गाडीलाई आज बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फागु अर्थात होली पर्वलाई व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरिएको हो । आज बिहानैदेखि उपत्यकाका झण्डै ७० ठाउँमा ट्राफिक चेक पोइन्ट राखिएको थियो । होलीमा कतिपयले उच्छ्रिङ्खल गतिविधि गर्ने, लोला हान्ने, जाँड रक्सी र लागुपदार्थ खाएर गाडी चलाउने भएकाले यसलाई रोक्न सुरक्षा जाँचलाई कडाइ गरिएको र दर्जनौँ कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिनुभयो ।

होहल्ला नगरी, जाँड रक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गर्दा पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको बताइएको छ । अभद्र तरिकाले होली खेलिएको पाइए तथा कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाई दिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आज आग्रह गरेको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array