विकासको मूल नै शिक्षा : अध्यक्ष लिङ्देन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै विकासको मूल नै शिक्षा भएको बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको सिसी क्यामेरा एप्स उद्घाटन तथा खेलाडी सम्मान कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको विकास बिना हुने क्षेत्रको विकास सम्म्भव नभएको बताउनुभयो ।

“सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य छ”, झापा क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका उहाँले भन्नुभयो, “प्राविधिक, जीवनोपयोगी र स्वरोजगारमुखी शिक्षा वर्तमानको आवश्यकता हो ।” उहाँले भोलिको भविष्य आजको शिक्षाले निर्धारण गर्ने भएकाले शिक्षा क्षेत्रको समुचित विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

शिक्षा क्षेत्रको विकासमा शिक्षकको भूमिका महत्त्वपूर्ण भएको बताउँदै उहाँले भन्नुभयो, “शिक्षक भनेको महत्त्वपूर्ण पद हो, जसको हातमा देशको भाग्य र भविष्य हुन्छ ।” शिक्षकले कक्षा कोठामा किताबको पाना पल्टाउने मात्र नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो । अबदेखि एप्सको माध्यमबाट अभिभावक, जनप्रतिनिधि र सारोकारवालाले अनलाइनबाटै विद्यालय अनुगमन गर्नेछन् ।

सिसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीले आफैँ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताउनुभयो । गाउँपालिका हाताभित्र रहेका १७ सामुदायिक विद्यालयमा सिसी क्यामेरा जडान गरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array