चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

नेपालगन्ज, विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ ।

समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो । चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन् ।

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ । नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमूना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्ज पठाइएको थियो । प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि नाकामै रोकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियमानुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकेका हौँ”, भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन् । विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक–पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ ।

यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको पाँच सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array