शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न विधेयक संसद्मा दर्ता गरिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ ती महत्वपूर्ण विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । यसअघि अघिल्लो सरकारले समेत सो विधेयक अगाडि बढाएको थियो । सङ्घीय संसद्को कार्यकाल समाप्त भएपछि ती विधेयक निस्क्रिय भएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ ती विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो ।

यस्तै, खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको छ । खाद्य पदार्थ, तरकारीलगायतको परीक्षण एवं अखाद्य वस्तुको निक्र्यौल गर्ने सम्बन्धमा सरकारले आवश्यक चासोका साथ प्रक्रिया अगाडि बढाएको प्रेस संयोजक केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array