महिलालाई सबै ठाउँमा समान अवसर र सहभागिताको माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ, महिलालाई सबै ठाउँमा समान अवसर र सहभागिताको व्यवस्था गरिनुपर्नेमा स्रष्टाहरूले जोड दिएका छन् ।

मानवअधिकार तथा शान्ति समाज केन्द्रीय समितिले आयोजना गरेको मासिक शान्ति काव्य प्रवाहको ९०औँ शृङ्खलाका सहभागी स्रष्टाले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार नगर्न रचनामार्फत आह्वान गरेका थिए । शान्ति काव्य प्रवाहमा कविहरूले महिला अधिकारलगायत समसामयिक सन्दर्भमा केन्द्रित रही आफ्नो रचना प्रस्तुत गरेका थिए ।

शान्ति काव्य प्रवाहमा स्रष्टाहरू मेनका पोखरेल, शारदा पराजुली, दुर्गाकिरण तिवारी, शान्ति न्यौपाने रिसाल, विमला दाहाल, प्रीति कौर, कुसुम शर्मा, उर्मिला पन्त पाण्डेय, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी शुक्राचार्य, जीवन अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, जसध्वज गुरुङ, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद ढुङ्गाना, निर्मल पराजुली, जनार्दन अधिकारीसहित २१ जना स्रष्टाले समसामयिक विषयमा लेखिएको रचना पाठ गर्नुभएको थियो ।

कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल र महासचिव रेनुका पौडेलले समसामयिक विषयका रचना पाठ गरी शान्तिलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै समाजले मासिकरूपमा प्रत्येक महिनाको अन्तिम बिहीबार कार्यक्रम गर्ने गरेको जानकारी दिनुभएको थियो ।

यसैगरी एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) का अवसरमा ‘महिला अधिकार मानवअधिकार : व्यवहारमा समानता, अवसरमा समानता’ भन्ने आह्वानसहित शान्ति समाजका कैलाली, बाँके, सल्यान, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, गोरखा, पाल्पा, बाग्लुङ, काठमाडौँ, मोरङ, सङ्खुवासभा, झापा, इलाम र सुर्खेत गरी १७ जिल्लाले गोष्ठी, अन्तक्र्रिया, प्रदर्शन, शान्ति पदयात्रा, दीप प्रज्ज्वलन, श्रमिक महिलालाई स्वास्थ्य सामग्री सहयोग र निःशुल्क स्वास्थ्य शिविरलगायत कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array