लागुऔषधको कारोबारमा युवतीको प्रयोग बढ्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ फाल्गुन २०७९, शनिबार
4 Min Read
Aa

झापा, इलामको चुलाचुली गाउँपालिका–१ की ३४ वर्षीया मञ्जु चापागाईँलाई शुक्रबार भारतबाट स्कुटर चढेर नेपाल आउँदै गर्दा भद्रपुरको मेची पुलमा प्रहरीले जाँच ग¥यो । उनले चलाएको स्कुटरबाट १६ ग्राम आठ सय मिलीग्राम खैरो रङको लिसाइलो पदार्थ बरामद भयो ।

बरामद भएको लिसाइलो पदार्थ लागुऔषध ब्राउन सुगर थियो । युवतीले सामान्य अवस्थामा हाँकिरहेको स्कुटरको जाँचमा यति धेरै प्रतिबन्धित लागुऔषध फेला पर्ला भन्ने प्रहरीले सोचेकै थिएन ।

झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार लागुऔषधको कारोबारमा अचेल युवतीको प्रयोग बढिरहेको हुँदा नाकामा प्रहरी चनाखो भएको छ । चुलाचुलीकी मञ्जुले चलाएको प्रदेश१–०१–०१३ प १९७३ नम्बरको स्कुटीसँगै उहाँको साथबाट रु पाँच हजार ७५ र एक थान रेडमी मोबाइल बरामद गरिएको सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।

भारतको सीमावर्ती पश्चिम बङ्गालस्थित पानीटङ्की र बिहारको गलगलियाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध लुकीछिपी नेपाल भित्रिने गरेको प्रहरीको आसङ्का छ । प्रहरीको निगरानी छल्न कारोबारीले युवतीको प्रयोग गर्न थालेपछि प्रहरीले सीमामा कडाइका साथ जाँच गरिरहेको रिजालले बताउनुभयो ।

यही एक साताभित्र लागुऔषधका कारोबारमा संलग्न ११ जनालाई झापाको प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको छ । स्कुटी चालकदेखि लजमा बसेकासम्म युवतीको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरीले सात घटनामा पक्राउ गरेका ११ जनाबाटै ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिको औसत उमेर २० वर्ष रहेको छ । यसबाट झापामा ब्राउन सुगरको कारोबार र खपत ज्यादा हुने गरेको देखिएको छ ।

फागुन २० गते विर्तामोड वडा नं २ का विश्वास सङ्ग्रौलाको डेरामा शङ्का लागि जाँच गर्दा बिर्तामोड–४ का विश्वास मण्डल र अनिशा मण्डल फेला परेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीबाट दिइएको जानकारीअनुसार उनीहरूको साथबाट प्रहरी टोलीले आठ ग्राम खैरो धुलोजस्तो देखिने ब्राउन सुगर, रु ११ हजार छ सय नगद, दुई थान मोबाइल र डिजिटल तराजु बरामद गरेको छ ।

यस घटनामा बिर्तामोड–४ की २० वर्षीया युवती अनिशा मण्डललाई लागुऔषधका कारोबारीले प्रयोग गरेको देखिएको छ । प्रहरीले युवतीसहित तीनै जनालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ ।

यसैगरी अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एण्ड लजमा बस्दै आएकी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ की १९ वर्षीया तिलु राईलाई शिवसताक्षी वडा नं १२ का २० वर्षीय मनिष बरालसँगै पक्राउ ग¥यो ।

उहाँहरूको साथबाट खैरो पदार्थजस्तो देखिने ब्राउन सुगर अढाइ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । होटलमा बसेर लागुऔषधको कारोबारमा संलग्न भएको आशङ्कामा प्रहरीले उहाँहरू बसेको कोठामा छापा मारेको थियो ।

फागुन २४ गते झापा गाउँपालिकाको सीमावर्ती लसुनाबाट सोही पालिका वडा नं ५ का २२ वर्षीय देवेन्द्र चौधरी, फागुन २१ गते काँकरभिट्टाको मेची पुलबाट इलाम–१२ का सुजनबाला राई र बिर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल, फागुन २० गते नै काँकरभिट्टाको मेची पुलबाट बिर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल र फागुन १९ गते भद्रपुरस्थित मेची पुल नजिकबाट शिवसताक्षी–९ का २८ वर्षीय मोहन शेर्पा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

झापा कारागारका आधाजसो कैदीबन्दी लागुऔषध अभियोगमा थुना परेकाहरू छन् । सहर र बजारतिर मात्र होइन, लागुऔषधको सेवनकर्ता र कारोबारी ग्रामीण क्षेत्रमा छ्याप्ती–छ्याप्ती देखिन थालेका छन् ।

अधिवक्ता डिगबहादुर बुढाथोकी प्रहरी र अदालतले प्रयोगको मात्रालाई मात्र आधार मानेर सजाय दिने नीति अवलम्बन गर्दा कारागारमा समेत लागुऔषधका कैदीबन्दीको सङ्ख्या बढेको बताउनुहुन्छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ मा सेवनकर्ताको सुधारका लागि चिकित्सकको सल्लाहमा थोरै मात्रामा लागुऔषध लिन पाउने व्यवस्था भएता पनि यसको कार्यान्वयनमा ध्यान नगएको उहाँको भनाइ छ ।

बढी सङ्ख्यामा थुनामा पु¥याउने नीति लिनुभन्दा सुधारात्मक गतिविधि बढाउन आवश्यक भएको अधिवक्ता बुढाथोकी बताउनुहुन्छ । लागुऔषधको सेवन गर्दा अधिकतम् एक वर्षसम्म र कारोबार गरेमा आजीवन काराबाससम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array