दश दलको बैठक : उपराष्ट्रपतिको निर्वाचनबारे छलफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ,नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा समझदारी गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले भन्नुभयो, “विशेषतः उपराष्ट्रपतिको निर्वाचनका निम्ति दश दलबीच समझदारी कायम गर्नेबारे छलफल भएको थियो, छलफल सकारात्मक भएको छ, पुनः बिहीबार बसेर टुङ्गोमा पुग्नेछौँ ।”

उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार हुनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ । जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ । नेकपा (एमाले)को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी हुुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

Array