खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ चैत्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ, नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो ।

लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उहाँले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।

यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको थियाे ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिनुभएको छ । “हामी आशावादी छौँ, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ । विजयीको शुभकामना टीम नेपाल”, उहाँले भन्नुभएको छ ।

साथै, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरुको साथमा छ । म तपाईंहरुको साथमा छु ।”

यूएईका कप्तानले बनाए अर्धशतक

आईसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा युएईका कप्तान मोहम्मद वसीमले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईका लागि वसीमले ४३ बलमा ६३ रन बनाएर मैदान बहिरिए । उनलाई नेपालका सन्दीप लामिछानेले आउट गराएका हुन् ।

त्यसअघि नेपालका ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौँ बलमा युएईका आर्यन लाक्रालाई ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

यो समाचार तयार गर्दासम्म यूएईले २२ ओभरमा २ विकेट गुमाएर ११८ रन बनाएको छ ।

आजको खेलमा नेपालले युएईलाई पराजित गरे नेपाल आगामी जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array