सभामुखको अभिव्यक्तिप्रति युनियनको आपत्ति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ, नेपाल प्रेस युनियनले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । युनियनले आज विज्ञप्ति जारी गरी सभामुख घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर व्यक्त विचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो ।

“पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन्, सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद हो”, विज्ञप्तिमा भनिएको छ ।

लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारितामा विश्वास राख्ने जनाउँदै युनियनले सञ्चार क्षेत्रका समस्यालाई न्यूनिकरण गर्दै व्यावसायिक र जवाफदेही बनाउन नेपालकोे प्रेस जगत प्रतिबद्ध रहेको उल्लेख गरेको छ । तटस्थ, निस्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर नेपालको स्वतन्त्र प्रेस विरुद्ध व्यक्त विचार अशोभनीय भएको युनियनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

Array