१४५ जनाको ज्यान गएको सिन्धुपाल्चोकको जुरेका पहिरोपिडितका परिवारले ९ बर्ष पुग्न लाग्दा समेत राहत पाएनन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ चैत्र २०७९, बिहीबार
5 Min Read
Aa

सुन्दर शिरीष सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुरेमा माथिको पहाडै खसेर बस्ती पुरिँदा १ सय ४५ जनाको ज्यान गएको ९ वर्ष पुग्न लाग्यो। सैयौं विस्थापित परिवार अझै पालमुनि जीवन बिताइरहेका छन्। तर, यतिका समय बितिसक्दा पनि पीडितले राहत पाएका छैनन्।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने भन्छन्, ‘पीडितको नाममा रहेको रकम कसरी पारदर्शी र समावेशी तवरले वितरण गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल गरिरहेका छौं।’उनको यो भनाइले पीडितले कहिले राहत पाउने हुन् अझै अन्योल नै देखाउँछ। पहिरो पीडितका लागि देश–विदेशबाट सर्वसाधारणलगायतका दाताले दिएको २ करोड २४ लाख राहत रकम अहिलेसम्मै सरकारी खातामै अड्किरहेको छ।

सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिले जुरे पहिरो प्रभावितका लागि जनस्तरबाट संकलित रकम नगर्दै वितरण गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको समेत प्रजिअ न्यौपानेले बताए। ‘सर्वपक्षीय बैठक बसी यसअघिको मन्त्रिपरिषद्को निर्णय संसोधन गर्न आग्रह गरेका छौं’, न्यौपानेले भने, ‘यसो भयो भने पीडितको रकम वितरण गर्न सकिन्छ।’

गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले जुरे पीडित समुदायले छनोट गरेको सामुदायिक विकास र पूर्वाधारको आयोजनामा लगानी गर्ने गरी परियोजना विकास गर्ने निर्णय गर्‍यो।

उक्त परियोजना जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले सम्बन्धित स्थानीय तहको समन्वयमा सञ्चालन गरी कार्यान्वयन गर्ने गराउने गरी कोषमा जम्मा भएको रकम २ करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँ ८५ पैसा फुकुवा गर्न स्वीकृति दिने भनी निर्णय गरेको थियो।
सो निर्णयपछि जिल्ला प्रशासन कार्यालयबाट आयोजना छनोटका लागि सम्बन्धित पालिकाहरूलाई समन्वय गर्दा उक्त पालिकाहरूबाट नगदै राहत वितरण गर्न न्यायोचित हुने निर्णय गरी पठाएकोले बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए।

बैठकले घटनाका १ सय ४२ जना मृतकका आफन्तलाई प्रतिमृतक २० हजार रुपैयाँका दरले मृतकको परिवार वा कानुनी हकवालालाई दिने निर्णय गरेको थियो। त्यसैगरी बाँकी रकमलाई तत्कालिन राहत वितरण मापदण्डको प्रतिवेदनअनुसार प्रभावितले प्राप्त गरेको अंकको आधारमा वितरण गरिनुपर्ने भनि मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको श्रेष्ठले बताए।

विभिन्न मापदण्डलाई आधार बनाएर अध्ययन गरेको सो प्रतिवेदनअनुसार कुल २ सय ८० परिवारलाई पहिरो प्रभावित मानिएको छ। जसमध्ये सबैभन्दा धेरै प्रभावित बलेफी गाउँपालिकाका छन्। सो पालिकामा मात्र १ सय १६ परिवार प्रभावितको सूचिमा सूचिकृत छन्।
बैठकले प्रति अंक ३ हजार ३ सय ६ रूपैंयाँको दरले प्रत्येक परिवारले प्राप्त गरेको प्राप्तांकको आधारमा २ सय ८० पीडित परिवारलाई वितरण गर्न भनिएको छ।

शून्य अंक प्राप्त गर्ने ३ पीडित परिवारलाई प्रति परिवार करिब ४ हजार ५३ रुपैयाँ प्रदान गर्न उचित हुने रायसहित गृह मन्त्रालयलाई अनुरोधसमेत गरिएको छ।

पहिरो पीडित भने रकम प्राप्त भए पक्की छानोमुनि बस्न पाइन्छ कि भन्ने आशामा छन्। ‘त्यो रकम दिए सानोतिनो एउटा घर बनाउन सकिन्थ्यो कि’, पहिरो पीडित चमेली तामाङ भन्छिन्, ‘रकम फुकुवा भयो भन्छन्। अहिलेसम्म अस्थायी टहरोमै कष्टका साथ बसेका छौं।’ जिल्ला दैवी प्रकोप उद्दार समितिले रकम वितरण गर्न चासो नदेखाएको पीडितहरूको गुनासो छ।

जुरे पहिरो पीडित रमेशकुमार श्रेष्ठले पहिरोमा कुनै पनि क्षति नभएकाहरू पीडितमा समावेश भएको देखिएकाले त्यसबारे छानबिन हुनुपर्ने बताए। वास्तविक पीडित नछुटुन् र गैरपीडित लाभग्राहीमा समावेश नहुन् भन्दै पुनः छानबिन र क्षतिको मूल्यांकन हुनुपर्ने उनको भनाइ छ। पहिरोमा आफ्नो श्रीमती, छोरीसहित परिवारका छ जनाको निधन भएको उनले बताए।

पहिरोबाट प्रभावितहरूलाई क्षतिपूर्तिका लागि जनस्तरबाट संकलित सहयोग रकमलाई राहत स्वरूप वास्तविक पीडितहरूलाई न्यायिक तवरले वितरण एवम् पुनर्वासका लागि व्यवस्थापन गर्न तत्कालीन जिल्ला दैवीप्रकोप उद्दार समितिले तयार गरेको ‘जुरे सुनकोसी पहिरो पीडित राहत वितरण मापदण्ड २०७१’ ले पीडितलाई ६ वर्गमा वर्गीकरण
गरेको थियो।

तत्कालीन जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गोकुल बस्नेतको संयोजकत्वमा नापी कार्यालयका प्रमुख शरदचन्द्र मैनाली प्रमुख, गैसस महासंघ प्रतिनिधि सोम सापकोटा, जिविस सदस्य मुरारी तिवारीलगायत सम्मिलित समिति बनाइएको थियो।

समितिमा जिविस सिन्धुपाल्चोकका राजेन्द्रप्रसाद प्याकुरेल सदस्य सचिव रहेका थिए। समितिले जिल्ला दैवी प्रकोप उद्दार समितिले तर्जुमा गरेको मापदण्डमा भएका सूचकहरू माथि छलफल तथा विश्लेषण मापदण्डबमोजिम पीडितहरूको सूचना संकलन गरेको थियो।

समितिले जिल्ला दैवी प्रकोप उद्दार समितिले तर्जुमा गरेको पीडित पुनवर्गीकरण मापदण्ड अनुसार सिन्धुपाल्चोकको माँखा र राम्चे गाविसका बीच भाग जुरे पहिरोको कारण राम्चे, माँखा, टेकानपुर र धुस्कुनका प्रत्यक्ष पीडित परिवारहरूको मात्र सूचना संकलन गरेको थियो।

प्रतिवेदनमा क वर्गमा १३, ख वर्गमा ४१, ग वर्गमा ४३, घ वर्गमा ५८, ङ वर्गमा ६४ र च वर्गमा ६१ गरी कुल २ सय ८० परिवार प्रभावित भएको उल्लेख छ।

समितिले मापदण्डअनुसार पुनवर्गीकरण गरिएका पीडितहरूको प्राप्त अंकभारबमोजिम प्राथमिकता क्रम तोकेर मृतक तथा बेपत्ता व्यक्तिहरूको आश्रितहरूलाई प्रतिमृतक र बेपत्ता संख्याको आधारमा निश्चित रकम विनियोजन गरेर मात्र बाँकी रकम वितरण गर्न सुझाव दिएको थियो।

२०७१ साउन १७ गते सिन्धुपाल्चोकको तत्कालीन माँखा र राम्चे गाउँविकास समितिको बीच भागमा पर्ने जुरेमा पहिरो खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array