स्थानिय निकायमा चरम भ्रष्टाचारको नमुना:गाउँपालिका अध्यक्षको साढे ४ वर्षमा गैरकानूनीरुपमा ९२ लाख आर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनियाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गदै अख्तियारले मुद्दा दर्ता गरेको हो।

१४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनिया ९ वेशाख २०७९ सम्म पदमा थिए। अख्तियारले उनको २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्र्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिएबापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ।

यही अवधिमा उनको खर्च र लगानी भने १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा पाइएको अख्तियारले जनाएको छ। यसमा छोराहरूको अध्ययनमा गरेको खर्चदेखि घर निर्माण खर्च, छोराको नाममा जग्गा, मोटरसाइकल, ट्र्याक्टर खरिद, परिवारको नाममा रहेको मौज्दातसमेत समावेश छ।

बनियाको वैधानिक आयभन्दा बढी देखिएको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारले बताएको छ। बनिया र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको जग्गा लगायतका चलअचल सम्पत्ति आफ्नो र छोराहरूको नाममा जोडेको देखिएकाले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। यस्तै बनियाका छोरा पंकज कान्दुको नाममा खरिद गरिएको जग्गा साथै घर, सवारी साधनका साथै बैंकहरूमा समेत रकम मौज्दातमध्ये स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्