नवनियुक्त महानिरीक्षक कुँवरले आज देखि कार्यभार सम्हाल्दै, अवकाशमा जान लागेका आइजी सिंहको बिदाइ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं- नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज शनिबार देखि पदभार सम्हाल्नु हुने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज विशेष साइत सहित कँवरले पदभार सम्हाल्न लाग्नु भएको हो । पदावधी पुरा गर्नुभएका महानिरीक्षक धिरज प्रताप सिंह सहित अवकास हुनुभएका उच्च प्रहरी अधिकृतलाई नवनियुक्त महानिरिक्षक सिंहले हिजो हेडक्वार्टरमा बिदाई गर्नुभयो ।

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रहरी प्रधान कार्यलयमा शुक्रबार अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गर्नुभयो । उहाँले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिनुभयो ।

अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभयो ।

उहाँले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

सिंहसँगै नौ प्रहरी अधिकृत अवकाशमा

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उहाँका ब्याजी नौ जना प्रहरी अधिकृतहरु आजबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिनुभयो । उहाँका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जाँदै हुनुहुन्छ ।

गएराति १२ बजेदेखि उहाँहरुको कार्यकाल सकिने भएकाले शुक्रबारै मन्त्रिपरिषद् बैठकले आजदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा एआइजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरिसकेको छ । उहाँहरुसँगै तीन डिआइजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ ।

प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि अनिवार्य अवकाशमा जाने प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्