सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन काठमाडौं महानगरपालिको अल्टीमेटम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन चेतावनी दिएको छ । तर तोकिएको समय अवधिमा नहटाइए महानगर आफैंले ती संरचना हटाउने र त्यसरी हटाउँदा लाग्ने खर्च निर्माणकर्ता स्वयंबाट भुक्तान गराइने महानगरले जनाएको छ ।

नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा निर्माण तथा अनधिकृत रूपमा निर्माण भएका संचरना हटाउन भन्दै महानगरले सूचना निकालेको हो ।

महानगरले शनिबार निकालेको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सम्बद्ध सबै सरोकारवालाहरूलाई ७ दिनभित्र ती संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।’

महानगरले पटकपटक सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्नेलाई हटाउन आग्रह गर्दै आएको छ । यस्तै, अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चाल ऐन २०७४ तथा विषय सम्बद्ध अन्य प्रचलित कानुन बमोजिम हटाइने र हटाउँदा लाग्ने खर्चसमेत पुनः सम्बन्धित पक्षबाटै असुल उपर गरिने समेत चेतावनी दिएको छ ।

यसअघि महानगरले थापाथलीस्थत वाग्मती करिडोरमा रहेको सुकुम्बासी बस्‍ती जबर्जस्ती हटाउन खोज्दा स्थानीयहरूसँग झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array