८ महिनामा ९ लाख बढी राहदानी वितरण,राहदानी लिन अब निकै सहज

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ चैत्र २०७९, आईतवार
6 Min Read
Aa

काठमाडौं : शुक्रबार दिउँसो ३ बजे राहदानी विभाग पुग्दा सेवाग्राही फाट्टफुट्ट मात्रै देखिन्थे। भौचर बुझाउने काउन्टरबाट बैंकका कर्मचारी भन्दै थिए, ‘राजस्व बुझाउने कोही हुनुहुन्छ भने आउनुस्।’ बाहिर निस्कँदा विभागको गेटमा बसेका प्रहरीले आग्रह गर्दै थिए, ‘राहदानी लिन कोही छुट्नुभएको छ भने भित्र जानुहोस् है।’

एक महिनाअघिसम्म राहदानी विभाग परिसर सेवाग्राहीले भरिभराउ हुन्थ्यो। सडकदेखि कार्यालयको फाँटसम्म सेवा लिनेको लाम भेटिन्थ्यो। झिस्मिसेदेखि साँझसम्मै लाम लाग्दा पनि पासपोर्ट नपाएपछि सेवाग्राही निराश हुँदै खाली हात घर फर्किन्थे। तर, आजभोलि स्थिति फेरिएको छ। माथि उल्लेख गरेजस्तै अवस्था यहाँ प्रत्यक्ष देखिन्छ। पासपोर्ट लिन कर्मचारी नै सेवाग्राहीलाई बोलाउँछन्/खोज्छन्।

बर्दियाका प्रेम कार्की काम छिटो भएकोमा राहदानी विभागबाट खुसी हुँदै निस्किएको भेटिए। उनको हातमा थियो, चकलेटी रंगको सर्वसाधारणलाई दिने पासपोर्ट। विभागमा फाराम बुझाएको तीन दिनमै उनको हातमा पासपोर्ट परेको थियो। ‘सहजै काम बन्दा खुसी लाग्यो,’ कार्कीले भने, ‘तेस्रो दिनमै राहदानी पाइयो।’

हुलाक सेवा विभागसँग सम्झौता गरेर काठमाडौं उपत्यका र काभ्रे जिल्लाबाट फारम प्राप्त भएको सात दिनमै राहदानी प्रिन्ट गरेर पठाएका छौं। राजमार्गले छुने जिल्ला र हुलाक सेवा भएका ठाउँमा पठाउन १५ दिन लाग्छ। हिमाली तथा पहाडी जिल्लाहरूमा तीन सातामा हात पर्छ।
खिमानन्द भुसाल – सूचना अधिकारी, राहदानी विभाग

विभागको अग्रिम समय सलएर फाराम बुझाएको तीन दिनमै अहिले राहदानी पाइन्छ। यसअघि अग्रिम समय लिन, फाराम भर्न र अरू प्रक्रिया पूरा गर्न हम्मेहम्मे पथ्र्यो। अब भने सेवाग्राहीले सहजै राहदानी पाउन थालेका छन्। भीड कम हँुदा कर्मचारीले पनि काममा सहजता महसुस गर्न थालेका छन्। बाराका कृष्णप्रसाद साहले पनि सजिलै राहदानी पाएको सुनाए।

धनुषाको ढल्केवरका दीपेन्द्र महतो पनि तीन दिनमै राहदानी नवीकरण (रिन्यू) गरेर साउदी उडे। उनले अन्नपूर्णसँग भने, ‘बुधबार फारम बुझाएको थिएँ। शुक्रबार भनेकै समयमा राहदानी पाइयो।’ नयाँ राहदानी दिन आउने र रिन्यू गर्न आउने सबैलाई विभागले ई–पासपोर्ट दिने गरेको छ।

एकै पटकमा ४५ हजार फारम खुलाइयो

राहदानी विभागले सेवाग्राहीका लागि डेढ महिनासम्मको मिति राखेर एकै पटकमा ४५ हजार अनलाइन फारम खुलाउन थालेको छ। यसकारण पनि सेवाग्राहीको भीड घटन थालेको छ। ७७ वटा जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नियोगले पनि राहदानी रिन्यू र नयाँ पासपोर्टका लागि पहिलाभन्दा धेरै संख्यामा अनलाइन फारम खुलाएको विभागका सूचना अधिकारी खिमानन्द भुसालले बताए। भने, ‘विभागले सबैका लागि दैनिक रूपमा १ हजार ५ सय र २ सय इमेजेन्सीका लागि विभागबाट फारम खुलाउँछौं।’

देश तथा विदेशमा गरी १ सय ९५ वटा स्टेसन खडा गरेर राहदानीका लागि बायोम्याट्रिकका विवरण संकलन गरिएको सूचना अधिकारी भुसालले बताए। उनका अनुसार विदेशस्थित ३८ वटा नियोगमा ५५ वटा, विभागमा २० वटा र सबै जिल्ला र इलाका प्रशासनमा १ सय २० वटा स्टेसन खडा गरिएका छन्।

विदेशबाट राहदानी फारम संकलन हुने गरी राहदानी प्रिन्ट भने त्रिपुरेश्वरस्थित राहदानी विभागबाटै हुने गरेको छ। विभागले दैनिक ६ हजार राहदानी प्रिन्ट गर्ने गरेको छ। जसमध्ये १५ सयदेखि १७ सय राहदानी वितरण गरिन्छ। अरू इलाका प्रशासन, जिल्ला प्रशासन र नियोगहरूबाट वितरण गरिन्छ।
पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी कार्यालयमा सेवाग्राहीको लाइन हटाउन निर्देशन दिएकै दिन राहदानी विभागको सर्भर बिग्रिको थियो। त्यसले सरकारको चर्को आलोचना भएको थियो पुसमा सर्भरमा देखिएको समस्या समाधन भइसकेको उनले बताए। भारत, मलेसिया र फ्रान्सबाट आएका आइटीका टिमले समस्या समाधन गरेको थियो।

८ महिनामा ९ लाख बढी राहदानी वितरण

एमआरपीलाई विस्थापित गर्दै २०७८ मंसिर १ देखि नेपालमा ई–पासपोर्ट युग सुरु भएको थियो। शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको थियो। राहदानी विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को ८ महिना(फागुन)सम्ममा ९ लाख १ हजार ३४ ई–पासपोर्ट जारी गरिएको छ।

राहदानी विभागबाट २ लाख २२ हजार ८ सय २२, इलाका प्रशासन/जिल्ला प्रशासन कार्यालयबाट ५ लाख ८६ हजार ५ सय १३ र विदेशस्थित नियोगहरूबाट ९१ हजार ६ सय ९९ वटा राहदानी वितरण गरिएको तथ्यांक छ। यसबाट विभागले ६ अर्ब ४२ करोड १५ लाख ५९ हजार ५ सय ५७ रपैयाँ राजश्व संकलन गरेको छ।

कहिले खरिद हुन्छ ई—पासपोर्टको बुकलेट ?

स्वदेश तथा विदेशबाट दैनिक १० हजार बढी राहदानीको माग हुने गरेको छ। तर, राहदानी विभागले ६ हजार मात्रै प्रिन्ट गर्ने गरेको छ। फ्रान्सको आइडिमिया कम्पणीसँग सरकारले ई–पासपोर्टको बुकलेट र सर्भर खरिद गरेको थियो। विभागले ‘५० लाख ई–पासपोर्टको बुकलेट माग गरेका थियौं। तर, दुई चरणमा सरकारबाट विभागले २३ लाखको स्वीकृति मात्रै पाएको थियो। त्यसमध्ये १६ महिनाको अवधिमा विभागले १५ लाख ७५ हजार पासपोर्टको बुकलेट प्रिन्ट गरेर सेवाग्राहीलाई वितरण गरिसकेको विभागका सूचना अधिकारी भुसाल बताउँछन्।

अब विभागसँग खरिद गरेको मध्य झन्डै ७ लाख २५ हजार मात्रै ई–पासपोर्टको बुकलेट बाँकी रहेको छ। विभागले महिनामा झन्डै १ लाखदेखि १ लाख १५ हजारसम्म पासपोर्ट प्रिन्ट गर्ने गरेको छ। विभागको गोदाममा जगेडा रहेको ७ लाख २५ हजार ई–पासपोर्टको बुकलेट मुस्किलले ६ महिनासम्म राहदानी छपाई गरेर दिन पुग्छ।

फ्रान्सको आइडिमिया कम्पनीसँग ई–पासपोर्टको ब्ुकलेट खरिद गर्न वार्ता भइरहेको छ। त्यसका लागि केही समय पहिले राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। फ्रान्सको आइडिमिया कम्पनीका प्रतिनिधिसँग एक चरणको वार्ता भइसकेको स्रोतले
जनाएको छ।

प्रतिक्रिया दिनुहोस्