तारकेश्वरको आरोग्य केन्द्रमा ५० भन्दा बढी आयुर्वेदका औषधी निशुल्क पाइने, जानकारी नपाँउदा नागरिकहरु सेवाबाट बञ्चीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०७९, मंगलवार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चैत्र १४ । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको नागरिक आरोग्य केन्द्रका सेवाका बारेमा पर्याप्त जानकारीको अभावमा सर्वसाधारणहरु सेवा लिनबाट बञ्चीत भइरहेका छन् । तारकेश्वर नगरपालिका वडा नं ११ बिन्दवासीनी मन्दीर परिसरमा २०७७ सालमा नागरिक आरोग्य केन्द्रको स्थापना भएपनि पर्याप्त आयुर्वेदका औषधीको अभावमा जानकारी भएका नागरिकहरु पनि केन्द्र सम्म पुग्ने गरेका थिएनन् ।
नगरपालिकाको नेतृत्वमा आएपछि नगरप्रमुख कृष्ण हरि महर्जनले यस आरोग्य केन्द्रका सेवा बिस्तारका लागि ३५ लाख रकम बिनियोजन गर्नुभएको थियो । यस केन्द्र मार्फत हाल ५० भन्दा बढी औषधीहरु निशुल्क रुपमा बितरण भइरहेको केन्द्रकी प्रमुख दिव्या आचार्यले बताउनुभयो । आरोग्य केन्द्रबाट बजारमा पाइने महंगो र गुणस्तरीय औषधीहरु बितरण भइरहेका छन् । नेपाल सरकारको नीति अनुरुप सञ्चालीत यस आयुर्वेद केन्द्रमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाण्डौंबाट खटाइएका पाँचौ तहका कबिराज र अभ्याङगकर्ता गरि दुई जना कर्मचारीहरुले सेवा दिइरहेका छन् ।
नागरिक आरोग्य केन्द्रले दैनिक रुपमा आयुर्वेदीक वपीडि सेवाहरु सञ्चालन गरेपनि यो सेवाले निरन्तरता पाउन सकिरहेको छैन् । केन्द्रमा जम्मा दुई जना मात्र कर्मचारी रहने र केन्द्रकी प्रमुख आचार्य आयुर्वेदका कार्यक्रमहरु सञ्चालन र कार्यालयको कामका लागि बाहिर गइरहनुपर्ने अवस्थाले सेवाले निरन्तरता पाउन नसकेको बताइएको छ ।
केन्द्र मार्फत औषधीका अलावा पुर्वकर्म सेवा भित्रका नस्यकर्म, एकाङ सर्वाङग, स्वेद्न, बस्तीकर्म लगायतका सेवाहरु सञ्चालनमा रहेका छन् । ति उपचार सेवाका नाममा काठमाण्डौंका क्लिीनिकहरुले महंगो शुल्क उठाइरहेका छन् । तारकेश्वर नगरवासीहरुले यि सेवाहरु निशुल्क रुपमा पाएपनि छिमेकी टोखा नगरवासीहरु भने आयुर्वेदका क्लिनीकहरुमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य छन् ।
केन्द्र मार्फत तारकेश्वरका जेष्ठ नागरिक प्रवद्र्धन र स्तनपाई आमाहरुका निम्ती विशेष खालका आयुर्वेदका औषधीहरु बितरण भइरहेका छन् । जेष्ठ नागरिकहरुले अस्वगन्धा, अमलकी चुर्ण र महानारायण तेल तथा स्तनपाई आमाहरुका लागि शतावरी चुर्ण, ज्यानो चुर्ण र दशमुल तेल बितरण भइरहेको छ ।

No description available.
नागरिक आरोग्य केन्द्रले २०८० सालको बैशाख महिना भित्रै सिरोधारा सेवा समेत थप गने लक्ष्य लिएको केन्द्रकी प्रमुख आचार्यले बताउनुभयो । सिरोधारा सेवा मार्फत टाउको दुखाई, माइग्रेन, पिनास र स्ट्रेस रिलिफको उपचार हुने छ । सिरोधारा सेवाको नाममा काठमाण्डौंका बिभिन्न आरोग्य केन्द्रहरुले २५ सय सम्म शुल्क लिने गरेका छन् । नागरिक आरोग्य केन्द्रमा रहेको कबिराजले जाँच गरेपछि आवश्यक रहेमा तारकेश्वर नगरवासीहरुले केन्द्रबाटै निशुल्क रुपमा सिरोधारा सेवा पाउने छन् ।
नागरिक आरोग्य केन्द्रकी प्रमुख आचार्यले नागरिकलाई सेवा दिनको लागि केन्द्रलाई पर्याप्त ठाँउको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी यहाँबाट आयुर्वेदका अझै धेरै सेवा दिन सक्छौं तर यहाँ भइरहेको ठाँउ अलि अपुग रहेको छ, हामीले वडा अध्यक्ष ज्यू र नगरप्रमुख ज्यूलाई पनि भनेका छौं, सायद उहाँहरुले व्यवस्था गदैहुनुहुन्छ होला”
आरोग्य केन्द्रका निम्ती नगरपालिकाले बिनियोजन गरेको बजेट पर्याप्त भएपनि केन्द्र मार्फत नागरिकका घरदैलो सम्म शन्देश दिनेखालका कार्यक्रमहरु सञ्चालन हुन नसक्दा यसको सन्देश नागरिकको घरदैलो सम्म पुग्न सकिरहेको छैन । केन्द्र मार्फत सञ्चालन भइरहेका कार्यक्रमहरु विद्यालय आयुर्वेद तथा योग शिक्षा बाहेक जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमसेवीका र स्वाथ्य शाखाका प्रमुखहरुलाई जानकारी दिने खालका कार्यक्रम मात्र रहेकाले नागरिक स्तरसम्म आयुर्वेदका कार्यक्रमहरु लैजानुपर्ने माग भइरहेको छ ।

No description available.
आरोग्य केन्द्रको ५०० मिटर नजिकै घर भएका गोपाल श्रेष्ठले केन्द्रका सेवाहरुको बारेमा आफुले भर्खर मात्र जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो “म यहाँ बसेको धेरै बर्ष भयो तर यो आरोग्य केन्द्र मार्फत निशुल्क आयुर्वेदका औषधि बितरण हुने कुरा भर्खर थाहा पाए, हामी छिमेकीले त भर्खर जानकारी पाइरहेका छौं भने टाढाटाढाका नगरवासीहरुले झन कसरी थाहा पाउनु”

No description available.
नागरिक आरोग्य केन्द्र आइपुग्नु भएका जितपुरफेदीका ८२ बर्षिय कृष्ण बहादुर भण्डारीले ७ महिना अघि देखि आफुले केन्द्रबाट नियमीत रुपमा औषधी सेवा गरिरहेको बताँउदै यहाँको औषधी सेवन पछि बषैं देखिको जिउ दुख्ने र घुडा दुख्ने रोग निको भएको बताउनुभयो । उहाँले भन्नुभयो “मलाई कान्छी छोरीले ७ महिना अघि जितपुर यहाँ उपचार हुन्छ भनेर ल्याइन, यहाँको औषधी खाएपछि मैले आज सम्म मेडिकलको कुनै पनि औषधी खान परेको छैन्”
भण्डारीले आरोग्य केन्द्रको सेवालाई नगरपालिकाका अन्य वडा सम्म बिस्तार गरिदिए जेष्ठ नागरिकलाई अझै सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकाले गर्दा जेष्ठ नागरिकलाई निकै सुविधा भएको छ, जितपुर देखि कुन्चीपकल सम्मका जेष्ठ नागरिकहरु आउँछौ तर यस्तो केन्द्रलाई बिस्तार गरेर दुई चार ठाँउमा राखिदिए हामीलाई अझै सुविधा हुने थियो”

प्रतिक्रिया दिनुहोस्

Array