अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाण्डौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिग्रँदो अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यमा सकारात्मक हस्तक्षेपको नीति अवलम्बन गरिने बताउनुभएको छ ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको १४औँ साधारणसभाको उदघाटन गर्दै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा सङ्कटोन्मुख अर्थतन्त्र सुधारका पक्षमा आवश्यक कदम चाल्न लागको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, पूँजीगत खर्च गर्न क्षमता वृद्धि गर्ने र उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने पक्षमा सरकार रहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक परिवर्तन भइसकेको विद्यमान अवस्थामा सामाजिक तथा आर्थिक क्षेत्रको रूपान्तरण गरी आमजनताको जीवनस्तर सुधारका लागि आवश्यक नीतिगत व्यवस्थासहित नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार सदैव तयार छ ।”

मन्त्रिमण्डल विस्तार भई सरकारले पूर्णता पाएसँगै अर्थतन्त्र सुधारका पक्षमा गम्भीर र प्रभावकारी कदम चाल्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने गरी रोजगार र निर्यातमुखी नीति तथा कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा तोयनारायण ज्ञवालीले बजेट निर्माणको प्रक्रिया अघि बढिरहेको विद्यमान समयमा अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुग्नेगरी बुँदागत रूपमा सुझाव उपलब्ध गराउन उद्योगी–व्यावसायीसँग अनुरोध गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बिग्रँदो अवस्थामा रहेका चर्चा गर्दै उद्योगमैत्री नीति तथा कार्यक्रमसहित बैंकको ब्याजदर घटाउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष नरेशलाल श्रेष्ठले सन् २००६ मा स्थापना भएको नेपाल फेल्ट उत्पादक तथा निर्यात सङ्घ आबद्ध व्यवसायीले गत वर्ष रु छ अर्बको सामान निकासी गरेको जानकारी दिनुभयो । सो अवसरमा मुलुकका एक सय ५० भन्दा बढी ऊनीजन्य उद्योगमा करिब २५ हजारले रोजगारी पाएको र न्यूजिल्याण्डबाट ऊनी ल्याई विभिन्न सामान बनाउँदा लागत बढेको उल्लेख गर्दै सम्बद्ध व्यावसायिक सङ्घ/संस्थाका प्रतिनिधिले हिमाली देश नेपालमा भेँडाच्याङ्ग्रा पालनमा जोड दिई स्वदेशमा ऊनी उत्पादन गर्ने वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता विभिन्न व्यावसायिक उद्योग तथा सङ्घ–संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array