विद्युतीय गाडीको प्रयोगले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री बस्नेत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ चैत्र २०७९, बुधबार
4 Min Read
Aa

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले नेपालले विद्युतीय सवारी साधनको अधिकतम प्रयोग गर्नु आर्थिक दृष्टिले मात्र लाभदायक नभई वातावरण जोगाउन र जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल (सीन) को २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यशाला गोष्ठीमा उहाँले जलस्रोत नेपालको सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक स्रोत भएको र त्यसको उत्पादन तथा खपत बढाउन सके देशले आर्थिक उन्नतिको क्षेत्रमा फड्को मार्ने विचार व्यक्त गर्नुभयो ।

विद्युतीय सवारी साधनको उपभोगलाई बढाउन सकेमा स्वच्छ वातावरणलाई सघाउ पुग्ने धारणा व्यक्त गर्दै मन्त्री बस्नेतले यसको प्रयोगका लागि चाहिने आवश्यक नीति, नियमलगायत विविध चुनौतीको समाधान गर्ने सरकारको प्राथमिकताको विषय भए पनि सबै क्षेत्रको साझा पहलकदमीबाटै समृद्धि मुलुकको भविष्य सुनिश्चित हुने बताउनुभयो ।

उहाँले विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन चुनौती भए पनि यसमा सरकार मात्र नभएर निजी क्षेत्र, उपभोक्ता सबैको साथ र समर्थन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै, उहाँले विद्युतीय सवारी साधनको विकास र देशको समृद्धिका आकांक्षा पूर्तिका निम्ति सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने कुरा औँल्याउनुभयो ।

जलस्रोतको विकासबाट नै मुलुकको सुन्दर भविष्य सुनिश्चित गर्न सकिने भन्दै मन्त्री बस्नेतले जलस्रोतको विकास र विद्युतीय सवारी साधनको प्रवर्द्धन सरकारको प्राथमिकताको क्षेत्र भएको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा ‘विद्युतीय सवारी साधन प्रविधि, पूर्वाधार, नीति तथा चुनौती ः वर्तमान अवस्था र व्यापारिक प्रयोजनको विद्युतीय गाडीको भावी सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै दिगो क्लिन इनर्जी प्रालिका कार्यकारी निर्देशक राजन रायमाझीले आगामी १०÷१५ वर्षभित्र विश्वमा विद्युतीय गाडीहरूको प्रयोग अत्यधिक मात्रामा बढ्ने विचार व्यक्त गर्नुभयो ।

व्यापारिक प्रयोजनको विद्युतीय गाडीहरूको प्रयोगले नेपालको आर्थिक क्षेत्रको कायापलट गर्न सक्ने विचार व्यक्त गर्दै उहाँले विद्युतीय गाडीहरूको प्रयोगको विस्तार र वृद्धि गर्नका निम्ति दक्ष जनशक्तिहरू निर्माण गर्न, जनचेतना अभिवृद्धि गर्न, विद्युतीय गाडी खरिदमा सहज बंैक ऋणको व्यवस्था गर्न र देशैभरि यसका चार्जिङ स्टेशन खोलिनुपर्ने उहाँको धारणा थियो ।

सो अवसरमा सीनका अध्यक्ष डिल्लीरत्न शाक्यले हाल नेपालमा विद्युत्को उत्पादनमा वृद्धि हुँदै जानु सकारात्मक कुरा भएको विचार राख्दै देशमा उत्पादित विद्युत्को स्वदेशमै खपत बढाउनका निम्ति मलखाद कारखाना खोल्न र विद्युतीय सवारी साधनको प्रयोग बढाउन जरुरी भएको बताउनुभयो । नेपालले हाल पेट्रोलियम पदार्थको आयातमा थुप्रै विदेशी मुद्रा खर्च गर्नुपरेको तथ्य औँल्याउँदै उहाँले देशभित्रै विद्युत्को खपत बढाउँदै व्यापार घाटा कम गर्न तथा आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले यस्ता कार्यक्रम जनचेतनाका लागि सरकारले बेलाबेलामा गर्नुपथ्र्यो भन्दै सीनप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले विद्युतीय सवारी साधनको प्रयोग वृद्धिका लागि वाधक विविध अप्ठ्यारा चुनौतीलाई सहज बनाउन सकिने तथा आर्थिक ऐन, नीति नियम तथा बजेटमा त्यस्ता अप्ठ्यारा अवस्थालाई सहज बनाउन सकिने बताउनु भयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी बजेटमा विद्युतीय सवारी साधनका लागि नेपाल सरकारको नीति नियम भए पनि व्यवसायी तथा उपभोक्ताका केही चुनौतीलाई भने विचार गर्नुपर्ने आशय व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका सहायक व्यवस्थापक ई सागरमणि ज्ञवाली, एशियाली विकास बैंकका कन्सल्टेन्ट विकास गव, सिमेक्स इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष् लगायतका विज्ञहरूले विद्युतीय सवारी साधनका विविध पक्षबारे कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा एशियाली विकास बैंकका राष्ट्रिय निर्देशक अनौड कौचोइस, नेपाल लिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले विद्युतीय सवारी साधनको प्रवर्द्धन तथा विस्तारका सम्बन्धमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array