सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

सिराहा, सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ ।

किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशङ्कर महतोले जानकारी दिनुभयो । नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन् ।

धनगढी–१ का किसान बेचनीकुमारी यादव उत्पादनको मूल्य नपाएको तथा मल र बीउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताउनुभयो । “सिँचाइ गर्न डिजेलपम्प चलाउँदा मर्कामा परेका थियौँ, निःशुल्क विद्युत् उपलब्ध गराउँदा राहत पाइने भयो”, उहाँले भन्नुभयो ।

धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमूना भएको स्थानीय श्याम यादवले बताउनुभयो । यसबाट कृषक खेतीतर्फ आकर्षित हुने उहाँको भनाइ छ ।

असार मसान्तसम्मको महसुल कृषक आफैँले र साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने छ ।”

कृषि मिटरको महसुल भुक्तानीका लागि आगामी वैशाख ४ गतेभित्र निवेदन, नगरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिसपत्र कृषि विकास शाखामा पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्