कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीका पक्षमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ चैत्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ,  निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गर्नुभएको छ । उहाँहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्र्रह गर्नुभएको हो ।

विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गर्नुभएका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गर्नुभएको हो ।

“नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिनसक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ”, जारी अपिलमा भनिएको छ ।

कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, “मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ ।”

उहाँहरुलगायत विगतको निर्वाचनमा विद्रोह गरेका प्रायःसबै पार्टीमा एकढिक्का हुनुभएको छ । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिनुभएको छ ।

चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उहाँहरूले आफूहरू कांग्रेसका उम्मेदवारका पक्षमा उभिएको बताउनुभएको छ । उहाँहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनःकांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गर्नुभएको हो ।

पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा पर्नुभएका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि पर्नुभएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिनुभएका अहिलेको निर्वाचनमा सबै एक ठाउँमा उभिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array