ज्यापू महागुथि र बाजा संरक्षणलाई कामपाले दियो रु एक करोड ७२ लाख

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ चैत्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई रु एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ ।

आज यहाँ भएको कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले ६३ ज्यापू महागुथिअन्तर्गत परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका २३ समूह प्रत्येकलाई रु दुई लाखका दरले अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रमुख साहले नदी सभ्यता र काठमाडौँवासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभयो ।

नदी सभ्यतालाई छुट््याएर काठमाडौँवासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो रहने हुनाले नदी सभ्यता जस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । प्रमुख साहले भन्नुभयो, “अनुदान रकम कम भए पनि यसलाई गुथि, खलका प्रतिनिधिले प्रोत्साहनका रूपमा ग्रहण गर्नुभयो ।”

उपप्रमुख सुनिता डङ्गोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गर्नुभयो । सामाजिक व्यवस्थापन र पहिचानका लागि सांस्कृतिक क्रियाकलापको महत्त्वलाई कामपाले नीति र कार्यक्रममा समेट्ने उहाँले विश्वास दिलनुभयो । काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको भन्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाद्यवादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिमा वडागत रूपमा साथ रहेको उल्लेख गर्नुभयो । महागुथिका अध्यक्ष पञ्चनारायण महर्जनले कामपाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताउनुभयो । सहकार्यलाई अझ नजिक बनाउँदा महानगर र समुदाय दुवैलाई फाइदा हुने उहाँको भनाइ थियो ।

गुँला बाजा व्यवस्थापन तथा संरक्षण सङ्घका अध्यक्ष अमिरमान शाक्यले बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरूसँगै गुँला बाजाको संस्कार भित्रिएको बताउनुभयो । गुँला बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

Array