हजारौँको भीडमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

भक्तपुर, भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो हिजो राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पु¥याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको हो ।

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाइएको हो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तानेर उक्त लिङ्गो उठाइएको हो । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो उठाइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतविद ओम धौभडेल बताउनुहुन्छ ।

आज रातभर र भोलि वैशाख १ गते दिनभर लिङ्गोलाई भैरवको प्रतीक मानेर स्थानीयवासीले बिहानैदेखि पूजा गरी बलि दिने गर्दछन् । दिनभर लिङ्गो जात्रा हेर्न देश विदेशका हजारौँ मानिसको भीड लाग्ने गर्दछ । वैशाख १ गते दिनभर जात्रा गरेर साँझ १० कर्म विधि एवं तान्त्रिक विधिअनुरूप पूजा गरेर लिङ्गो ढाल्ने गरिन्छ ।

यसअघि आज बिहान भक्तपुरको पोटरी स्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले हात नभएको लिङ्गो उठाएका छन् । यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले आज बिहान लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र आगामी वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array