बालिका बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ बैशाख २०८०, सोमबार
3 Min Read
Aa

झापा, गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लोपटक चैत २८ गते बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् । पीडितकी माइजुले विगत पाँच महिनादेखि बालिकालाई मारिदिने डर धम्की देखाउँदै अभियुक्त भट्टराईले बलात्कार गर्दै आएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले पछिल्लोपटक बलात्कार भएलगत्तै गौरादह इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो । हाल फरार अभियुक्त भट्टराईको खोजतलास भइरहेको उहाँले बताउनुभयो । फरार आरोपी पक्राउ पर्न नसक्दा पीडितको परिवारमा त्रास बढेको छ । गत पुसमा पनि अभियुक्त भट्टराईले बालिकालाई बलात्कार गरेको पीडित पक्षको भनाइ छ ।

प्रहरीले पीडित बालिकाको स्वास्थ्य जाँच गरिसकेको छ । हाल बालिका आफ्नै घरमा रहेकी छन् । पीडित बालिकाको हात, खुट्टा र पेट सुन्निन थालेको जनाउँदै स्थानीय चिकित्सकबाट उपचार गराइरहेको पीडित पक्षले बताएको छ । “नानी अहिले पनि बिरामी अवस्थामै छिन्, हातखुट्टा सुन्निएको देखिन्छ”, बालिकाकी माइजुले भन्नुभयो, “घटना थाहा पाएलगत्तै प्रहरी कार्यालयमा उजुरी दिएका थियौँ । अपराधी पक्राउ परेको छैन ।”

पीडितकी आमा खेतीपाती गर्नुहुन्छ भने बुबा मिस्त्री काम गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । बालिकाको स्वास्थ्य अवस्थासमेत चिन्ताजनक बन्दै गएको जनाउँदै परिवारका सदस्यहरु दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीका लागि दबाब बढाउन राससको सम्पर्कमा आइपुग्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रिजालले पीडितले किटानी जाहेरी दिइसकेको र आरोपीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको हुँदा अभियुक्त छिट्टै पक्राउ पर्ने बताउनुभयो । उहाँले फरार अभियुक्तको तीव्र रुपमा खोजी कार्य भइरहेको र प्रहरीले चाँडै पक्राउ गरी कानुनअनुसार कारबाही अघि बढाउने जानकारी दिनुभयो ।

फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु तीन लाखको प्रलोभन देखाउँदै घटनालाई मिलाउन दबाब दिने गरेको पीडितकी माइजूले बताउनुभयो । अभियुक्तकी आमाले दैनिकजसो पीडितको घरमा आएर घटना मिलाउन र प्रहरीमा दिएको उजुरी फिर्ता लिन धम्की दिने गरेको उहाँको भनाइ छ ।

“अपराध गर्ने व्यक्ति पक्राउ नपर्नु र पैसाको लोभ देखाएर उजुरी फिर्ता लिन दबाब दिइनुले हामी त्रासमा परेका छौँ,” पीडितकी माइजूले रासससँग भन्नुभयो, “बलात्कृत नानीको स्वास्थ्य अवस्था नाजुक छ । परिवारसँग उपचार गर्ने पैसा पनि छैन । छिटोभन्दा छिटो दोषी पक्रिनु प¥यो । कानुनी कारबाही हुनुप¥यो । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

Array