रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

चितवन, चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।

विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गर्नुभयो ।

चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए ।

ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो । त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो । उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए । मङ्सिरमा १० दल र छ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए ।

चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

Array