आज विश्व हाँसो दिवस : दर्शकको रोजाइमा हास्य विधाका चलचित्र

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ बैशाख २०८०, शनिबार
4 Min Read
Aa

काठमाडौँ,  आज २५औँ विश्व हाँसो दिवस । सन १९९८ मा भारतका एक वरिष्ठ चिकित्सकको पहलमा मनाइन थालिएको यो दिवसलाई त्यसयता विविध कार्यक्रम गरेर मनाइने गरिन्छ ।

नेपालमा पनि हास्य विधाका टेलिशृङ्खला, प्रहसन र चलचित्र दर्शकको रोजाइमा पर्ने गरेका छन् । गत वर्ष प्रदर्शन भएका सफल हुनेमा अधिकांश हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइएको नेपाली चलचित्रका छन् । गत वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यी बाहेक ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘झिङ्गेदाउ’ पनि हास्य विधामै रहेको चलचित्र हो । उल्लिखित चलचित्रले घरेलु बजारबाट नै मुनाफा कमाएका छन् ।

यो नेपाली चलचित्रमा अहिले हास्यविधालाई दर्शकले रुचाएको भन्न सकिने उदाहरण हो । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४ ः द फाइनल म्याच’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ । गत वर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ ले ५१ दिन मनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् ।

कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन् । ‘तीतो–सत्य’ टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गर्नुभएको ‘छक्का पञ्जा’को तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ । यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ ।

“बक्सअफिसलाई हेर्दा समेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चश्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ”, निर्देशक प्रदीप भट्टराईले भन्नुभयो । उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ ले पनि राम्रो व्यापार गरेका छन् । हास्यशैलीलाई कलात्मकरूपमा प्रस्तुत गर्ने भएकाले उहाँसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ । उहाँले यो सफलतालाई परिवर्तनको रूपमा हेर्नुहुन्छ ।

“चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्य कलाकारको काम नै हँसाउने हुन्थ्यो । तर अहिले हास्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ”, निर्देशक भट्टराईले भन्नुभयो, “यद्यपि हामी सचेत हुनुपर्छ । दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व त्यति नै बढ्छ ।”

हास्य टेलिशृङ्खलामा दर्शकको रोजाइमा परिरहँदा अभिनेता दीपकराज गिरीले त्यो समूहलाई ठूलो पर्दामा ल्याउनुभयो । त्यो प्रयास ‘छ एकान छ’ मा सफल भयो । त्यसपछि त्यो समूहले निर्माण गरेको सम्पूर्ण चलचित्र ५१ दिनको यात्रा तय गर्न सफल भएका छन् । “हामीले व्यापारभन्दा पनि दर्शकको मायालाई केन्द्रमा राखेर चलचित्र निर्माण गर्यौं । त्यही कारण हुनसक्छ हामी सफल भइरहेका छौँ”, अभिनेता गिरीले भन्नुभयो ।

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल हुनुहुन्छ । उहाँहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन् ।

अभिनेता किरण केसीले दर्शकको रोजाइमा हास्य विधा सदैव रहिरहेको बताउनुभयो । “नेपालमा हास्य कार्यक्रमहरू धेरै नै हुन्छन् । हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो”, उहाँले भन्नुभयो, “हाम्रो कामले एकैछिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो कामलाई शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन् ।”

निर्देशक भट्टराईले हास्यव्यङ्ग्य विधामा चलचित्र बनाइरहनुभएकाहरू अझै मेहनती हुनुपर्ने बताउनुभयो । “हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ । यसले चुनौती थपेको छ”, उहाँले भन्नुभयो, “टेलिचलचित्र अहिले निकै कम छन् । कुनै समय हरेक दिन हास्यविधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए । जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए । अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन ।” उहाँले विषयवस्तु चयन, प्रस्तुतिकरण, कलाकारको छनोटलगायतका विषयमा विशेष ध्यान दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array