नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ बैशाख २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ ,नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो ।

जितका लागि दुई सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले आठ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण सुपरओभर पनि हुन सकेन र नेपाल समूह विजेताका आधारमा फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल खेलेका थिए ।

कुवेतका ओपनर आदनान इद्रिस शून्यमा बाहिरए भने रविजा सनदरुवानले नौ रन बनाए । परविन्दर कुमार एक, मित भावसार पाँच र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रनका बनाए । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक–एक विकेट लिए । त्यसअघि ५० ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।

अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ । युएईले ओमानलाई डिएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि भोलि खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्