‘गुठी संस्कृति र सम्पदा संरक्षणमा चुनौती थपिँदै गयो’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

 

काठमाण्डौं । गुठी संस्थान सञ्चालक समितिका अध्यक्ष डा शिवराज पण्डितले समय सापेक्ष ऐन, कानुन नहुँदा गुठी संस्कृति र सम्पदा संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित गुठी संस्कृति र सम्पदा संरक्षण विषयक अन्तरक्रियामा अध्यक्ष पण्डितले समय सापेक्ष कानुन नबन्दा सम्पदा संरक्षण, सञ्चालन, व्यवस्थापन तथा संवद्र्धनमा चुनौति थपिँदै गएकोले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सार्वजनिक हित र परोपकारी भावनाका साथ पुर्खाहरुले छुट्याइदिएका चल–अचल सम्पत्तिमाथि पछिल्लो समय बढ्दै गएको अतिक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गर्न स्थानीय जनप्रतिनिधि एवं सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य एवं एमाले नेता दीपेन्द्र ठाकुरले गुठी संस्कृति र सम्पदा संरक्षण गर्ने दायित्व सबै तह, सरकार र पक्षको भएकाले राजनीतिक दलका तर्फबाट संरक्षण कार्यमा सधै सहयोग रहने बताउनुभयो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिहंले गुठी संस्थानले स्थानीय तहको जिम्मेवारी रहने गरी समय सापेक्ष ऐन कानुन संशोधन गरी समन्वयको अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले अधिकार र जिम्मेवारी दिएमा आफ्नो क्षेत्रभित्र रहेका गुठीको संरक्षण गर्न स्थानीय तह सक्षम रहेको समेत बताउनुभयो ।

गुठी संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख राजेन्द्र दाहालले हाल देशभर ७२ जिल्लामा विभिन्न प्रकारका गुठी जग्गा, मठमन्दिर, पाटी, पौवा र पोखरी गरी दुई हजार ८२ राजगुठी रहेको जानकारी दिनुभयो । त्यसमध्ये अमानतमा सञ्चालित एक हजार ५० र छुटमा सञ्चालित एक हजार ३२ गुठी सङ्ख्या रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी अभियन्ता प्रफुल्लराज घिमिरेले जनकपुरधाममा वर्षौदेखि गुठी जग्गाको दुरुपयोग भइरहे पनि सरोकारवालाले नै त्यसको संरक्षणका लागि ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले शक्ति र पहुँचको आधारमा जनकपुरधामको गुठी जग्गा दिनप्रतिदिन अतिक्रमणमा पर्न लागेकाले ठोस् कानुन बनाएर संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका अधिकांश जिल्लाका मालपोत तथा नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array