जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

काठमाण्डौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।

सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार सङ्घका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले विगत २० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई अहिलेसम्म नियुक्तिपत्रसमेत नदिएको गुनासो गर्नुभयो ।

“जडीबुटी प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई नियुक्तिपत्रको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, कामदारलाई चाडपर्व खर्च दिनुपर्ने, बिरामी बिदा दिनुपर्नेलगायत हाम्रो माग रहेको छ”, उहाँले भन्नुभयो । देशको आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा राज्यकोषबाट करोडौँ रकम निकासा गरी कम्पनीले विभिन्न ठाउँमा भवन निर्माण गरे पनि उक्त भवन अहिलेसम्म प्रयोगमा नआएको सचिव क्षेत्रीले बताउनुभयो ।

सरकारको लगानीमा विसं २०३८ मा स्थापना भएको उक्त कम्पनीले कोरोनाको समयमा समेत श्रमिकलाई आधा तलब दिएको थियो । केही वर्ष अगाडिदेखि नै व्यवस्थापक र श्रमिकबीच श्रम ऐन, २०७४ बमोजिम श्रमिकका सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि उक्त आश्वासन पूरा नभएको सचिव क्षेत्रीले बताउनुभयो ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सुनिता यादवले कर्मचारीले राखेका जायज माग पुरा गर्न व्यवस्थापन पक्ष लागिरहेको बताउनुभयो । “यहाँ कार्यरत कर्मचारीले लामो समयदेखि उठाउँदै आएको मुद्दा समाधानका लागि व्यवस्थापनको तर्फबाट मैले पहल लिँदै आएको छु, कर्मचारीको समस्या चाँडो समाधान हुन्छ”, उहाँले भन्नुभयो ।a

प्रतिक्रिया दिनुहोस्

Array