पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

दोधारा चाँदनी, कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् ।

धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन् । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताउनुभयो ।

“नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बनाउँदै छ”, उहाँले भन्नुभयो, “हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकासलाई प्राथमिकतामा राखेका छौँ ।” अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् ।

भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्र र बिजुली बत्ती पु¥याउने काम भइरहेको छ । नगरपालिकाका इन्जिनियर शतिस शामीले पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाहमण्डप बनाउने काम अघि बढेको बताउनुभयो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्डर्ससँग ठेक्का सम्झौता भएको छ । बेदकोट नगरपालिकाले यहाँ ‘सेल्फी प्वाइन्ट’को निर्माण गरेको छ । सात वर्ष अघि रु २५ लाखको लागतमा सेल्फी प्वाइन्ट निर्माण गरिएको हो । पछिल्लो समय महेन्द्रनगर आउने आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । लिङ्गेश्वरधाम पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array