गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ बैशाख २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ,  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुहुने सङ्घले जनाएको छ ।

अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनको व्यवस्थापनको जिम्मा सङ्घको चेक रिपब्लिक शाखाले लिएको छ । सम्मेलन सम्पन्न गर्न क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनको सञ्चार संयोजन सङ्घका सञ्चार संयोजक चिरन शर्माले गर्नुहुनेछ ।

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीका अनुसार सम्मेलनमा सङ्घका नियमित एजेन्डालगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै, सम्मेलनमा सङ्घको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५औँ विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ ।

सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले नेपालमा जति पूँजीको लगानी छ त्यति नै सीप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने बताउनुभयो ।

सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुनुहुनेछ । यस्तै, गैरआवासीय नेपाली सङ्घका केन्द्रीय पदाधिकारीहरु सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, सङ्घ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्षहरु, पूर्वअध्यक्षहरु र संस्थापकहरुको उपस्थिति रहनेछ । सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय नेपाली पदाधिकारी एवं अतिथि प्राग पुगिसक्नुभएको छ ।

यस्तो छ तीन दिनको मुख्य कार्यक्रम

सङ्घका उपमहासचिव रामशरण सिम्खडाका अनुसार शुक्रबार दिउँसोदेखि सङ्घको औपचारिक कार्यक्रम सुरु हुनेछ । पहिलो दिन, शुक्रबार बिहानदेखि प्रतिनिधिहरुको दर्ता प्रारम्भ हुनेछ । दिउँसो २ बजेदेखि संस्थागत गतिविधिहरु हुनेछन् । २ देखि साँझ ५ बजेसम्म स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समितिबीचको सञ्जालका बारेमा छलफल हुनेछ भने साँझ ५ बजेदेखि उद्घाटन शत्र सुरु हुनेछ ।

सम्मेलनको दोस्रो दिन, शनिबार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता) एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोसन लगायतका कार्यक्रम तय गरिएको छ । यस्तै, सम्मेलनको तेस्रो दिन, आइतबार नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्सफर लगायतका विषयमा छलफल हुनेछ । सोही अवसरमा प्राग घोषणपत्र जारी गरिनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

Array