गैरआवासीय नेपालीको नागरिकताबारे दालका नेताको प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ बैशाख २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौँ,  गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली सङ्घको १५ औँ युरोप क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गैरआवासीय नेपालीहरुका मुद्दाका एक मत जाहेर गर्नुभएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताउनुभयो । संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकाले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी मुद्दा १५ ÷१६ वर्षदेखि बहसको विषय बनिरहेको छ, अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु ।” गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै बताउँदै भन्नुभयो, “संविधान सम्मानित छ र परिवर्तनशील पनि छ । संविधान परिवर्तन नहुन्जेल चाही हामी संविधानको दायराभित्र बस्नुपर्छ । तपार्इँहरुका समस्यालाई कानुनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ ।”

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकतालगायत विषय नेपाली कांग्रेस सकारात्मक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानुनमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीहरुको समेत भूमिका भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनुपर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौँ ।”

उहाँले समयअनुकूल आवश्यकताअनुसार संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताउनुभयो । उहाँले गैरआवासीय नेपाली सङ्घलाई सबै नेपालीको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।

रास्वपाका सांसद मनिष झाले गैरआवासीय नेपालीसम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गर्नुभयो । उहाँले नेपालका राजनीतिक दललाई थप जिम्मेवारी दिन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । माओवादी केन्द्रका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीको मागप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुक्रबारदेखि सुरु गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ । सम्मेलनको अन्त्यमा प्राग घोषणपत्र जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array