पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकालाई आदेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ , उच्च अदालत जनकपुरले राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । स्थानीय बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिट निवेदनमा अदालतले यस्तो फैसला गरेको हो ।

राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीकोे पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो ।

उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ र उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

निवेदकको तर्फबाट अधिवक्ता किशोरी साह र कौशलेन्द्र लाल कर्ण तथा विपक्षीको तर्फबाट मन्सुर राईनले बहस गर्नुभएको थियो । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माणका लागि सो जग्गामा गत माघ २७ गते शिलान्यास गरेको थियो । नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले उपमहानगरको वडा नम्बर–८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठा जग्गामा निर्माण हुने पार्किङस्थलको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array